सित्तैमा चलाउन नपाइएला त ट्विटर ? क–कसले तिर्नु पर्ला शुल्क ?

Share News

वैशाख २१, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटर सशुल्क हुने सम्भावना देखिएको छ ।

भर्खरै ट्विटर किनेका अमेरिकी खर्बपति व्यापारी एलन मस्कले आफ्नो एक ट्विटमा ट्विटरलाई सशुल्क हुन सक्ने बताएका हुन् । तर शुल्क सबै ट्विटर प्रयोगकर्तामा लागू हुने छैन । 

ट्विटमा मस्कले ट्विटरका व्यवसायिक वा सरकारी प्रयोगकर्तालाई शुल्क तिराउने संकेत दिएका हुन् । सर्वसाधारणलाई भने यो निःशुल्क नै रहने बताइएको छ । मस्कले नयाँ फिचर ल्याउने र ट्विटरको प्रिमियम सेवा ट्विटर ब्लुको सब्सक्रिप्शन सेवामा हेरफेरको संकेत गरेका छन् । अतिरिक्त सेवाको लागि शुल्क लिएर ट्विट बटन, बूक मार्क  अनडू गर्ने जस्ता सेवा थपिने छ । 

ट्विटरको ट्विटर ब्लु सेवा शुल्कमा आधारित छ । यसमा थोरै शुल्क लिएर प्रयोगकर्ताहरुलाई विशेष फिचर वा एपको सुविधा दिइएको छ । तर यो सेवा अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजिल्यान्डमा मात्रै उपलब्ध छ । 

मस्कको पछिल्लो घोषण अनुरुप कम्पनीले शुल्क लगायो भने यसबाट विश्वभर सरकारी एवम् व्यवसायिक प्रयोगकर्ताहरु प्रभावित हुनेछन् । मस्कले हालै मात्रै ४४ अर्ब डलरमा ट्विटर किनेका छन् । उनले ट्विटरमा व्यापक हेरफेर गर्न खोजिरहेका छन् । मस्कले केही वर्षभित्र ट्विटरलाई शेयर बजारमा ल्याउन चाहेका छन् ।

उनले तीन वर्षभित्र यसलाई पुनः बेच्न सक्ने स्रोतको भनाइ उद्धृत गर्दै सञ्चार माध्यमहरुले समाचार छापेका छन् । मस्कको ट्विटर टेकओभर यो वर्षभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ । यद्यपि, यसलाई ट्विटरका शेयर धनी र नियामकहरुले अनुमति दिनु पर्नेछ ।

सम्झौता पूरा भएपछि मस्कले कम्पनीका वर्तमान सीईओ पराग अग्रवाल र नीति प्रमुख विजया गड्डेलाई कम्पनीबाट निकाल्ने अफवाह पनि चलेको छ । यी सबै कुराको पुष्टि कम्पनीले गरेको भने छैन । स्रोतहरुको कुरा पत्याउने हो भने मस्कले सम्झौता पूरा हुने बित्तिकै ट्विटरका लागि नयाँ प्रमुख कार्यकारी अधिकारी ठिक्क पारेर राखेका छन् । एजेन्सीहरु

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।