वैशाख २७, काठमाडौं । गएको तीन दिनमा विश्वका ठूला प्रविधि कम्पनीहरुले १० खर्ब ५९ अर्ब डलरभन्दा धेरै बजार पूँजीकरण गुमाएका छन् ।
बुधवार अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले बेञ्चमार्क ब्याजदर बढाएयता शेयर बजारमा शेल–अफ (आफूसँग भएको शेयर सस्तो मूल्यमै मिल्काउने प्रवृत्ति) देखिएको छ । अन्य क्षेत्रको तुलनामा प्रविधि कम्पनीमा यो समस्या चर्को देखिएको छ ।
महामारीको समयसमेत हालैका वर्षमा बजार बुलिश बन्दा लगानीकर्ताहरुले प्रविधि कम्पनीको शेयरमा लगानी खन्याएका थिए । तर पछिल्लो समय लगानीर्ताहरुले सुरक्षित ठानिएका शेयरमा लगानी बढाउन थालेपछि प्रविधि कम्पनीको शेयरमा तीव्र कमी आइरहेको छ ।
बुधवार शेयर बजार बन्द भएयता विश्वको सबैभन्दा मूल्यवान पब्लिक कम्पनी एप्पलले २ खर्ब २० अर्ब डलरभन्दा धेरै बजार पूँजीकरण गुमाइसकेको छ । फेड अध्यक्ष जेरम पावेलले महँगी अति नै उच्च रहेको भन्दै बुधवार ब्याजदर वृद्धिको घोषणा गरेका थिए । बिहीवार, शुक्रवार र सोमवार गरी तीन दिनको कारोबारमा एसएन्डपी ५०० परिसूचक ७ प्रतिशतले घटेको छ ।
यस अवधिमा नाष्डाक झन्डै १० प्रतिशतले तल झरेको छ । तीन दिनको कारोबारमा बजार पूँजीकरणमा दोस्रो उच्च कमी बेहोर्ने कम्पनी टेस्ला रहेको छ । यसको बजार पूँजीकरण १ खर्ब ९९ अर्ब डलर गुमेको छ । बजार पूँजीकरण १० खर्ब डलरमाथि उक्लिएको केही महीनापछि घटेर १० खर्ब डलर मुनि झरेको छ ।
तेस्रो स्थानमा रहेको माइक्रोसफ्टको बजार पूँजीकरण १ खर्ब ८९ अर्ब डलर गुमेको छ । एमाजनले १ खर्ब ७३ अर्ब डलर, अल्फाबेट(गूगल) ले १ खर्ब २३ अर्ब डलर गुमाउँदा ग्राफिक कार्ड निर्माता कम्पनी निभिदियाले ८५ अर्ब डलर र फेसबुकको मातृ कम्पनी मेटा प्लेटफर्मले पनि ७० अर्ब डलर गुमाएको छ ।
फेडको ब्याजदर वृद्धि, रुसले युक्रेनमा हमला गरेपछि मागमा भएको क्षति, महँगीका कारण उपभोक्ताको खर्च क्षमता संकुचित हुनु, चीनले कोभिड नियन्त्रण गर्न लगाएको कठोर बन्दाबन्दी आदि प्रविधि कम्पनीहरुको शेयर मूल्य घटाउने कारकका रुपमा रहेका छन् ।
फेडले ब्याजदर शून्य नजिक राख्दा प्रविधि क्षेत्रका कम्पनीको शेयरमूल्य वृद्धिमा टेवा दिएको थियो । पछिल्लो समय फेडले आक्रामक रुपमा मौद्रिक नीति कसिलो बनाउन थालेपछि लगानीकर्ताहरुले शेयरलगायत जोखिमयुक्त सम्पत्तिमा गरेको लगानी झिक्न थालेका छन् । आर्थिक अनिश्चय र महँगीले पनि कम्पनीहरु प्रभावित भइरहेका छन् । एजेन्सीहरु
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।