आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची, पेट्रोल लिटरमै ८ रुपैयाँ बढेर आयो, निगमको घाटा अझै बढ्ने 

Share News

जेठ २, काठमाडौँ । भारतीय आयल कर्पोरेसन(आईओसी) ले नेपाल आयल निगमलाई  पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढाएर इन्धनको नयाँ मूल्य सूचि पठाएको छ ।

त्यस्तै डिजेलमा ४ रुपैयाँ तथा हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ । सरकाले गत शनिवार ग्याँस बाहेक सबैखाले  ईन्धनको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँका दरले  बढाएको थियो  ।

निगमले आईओसीसँग खरिद गर्ने प्रशोधित तेलको मूल्य बढेपछि निगमको नोक्सानी समेत थप बढेको छ ।   अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले खरीद गर्ने प्रशोधित तेलको मूल्य समेत बढेको निगमले जनाएको छ ।

रुस-युक्रेन युद्धका कारण अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च दरले बढेको हो । अन्तरराष्ट्रिय बजारमा  सोमवार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ११ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

पछिल्लो ५ महीनामा आईओसीबाट प्राप्त मूल्य सूची लगातार बढेर आएको छ । ५ महिनाको अवधिमा पेट्रोल प्रतिलिटर ४५ रुपैयाँ, डिजेल ६२ रुपैयाँ, मट्टितेल ४०, हवाई इन्धन ५७ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ सय ८० रुपैयाँ बढेको छ । 

यस आर्थिक वर्षको ९ महीनाको अवधिमा देशमा कुल २ खर्ब १८ अर्ब ३५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि चैतमसान्तसम्मको विवरणअनुसार कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा बढी  १४ दशमलव ९ प्रतिशत छ । पेट्रोलियम पदार्थको आयात बढ्दो देखिन्छ । गत वर्षको तुलनामा २ प्रतिशतले यसको आयात बढेको छ । 

गत आर्थिक वर्षको ९ महीनामा जम्मा १ खर्ब १९ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । अन्तरराष्ट्रिय बजारमा मूल्य बढेकाले पनि पेट्रोलियम पदार्थको आयात उच्च देखिएको हो ।

राष्ट्र बैंकका अनुसार २०७७ चैत मसान्तमा कच्चा तेलको मूल्य अन्तरराष्ट्रिय बजारमा प्रतिब्यारेल ६२ डलर रहेकोमा २०७ चैत मसान्तमा १११ डलर पुग्यो । जसले गर्दा पेट्रोलियम पदार्थको मूल्य नै बढ्न जाँदा यसले आयात बढाएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।