जेठ ३, काठमाडौं । अमेरिकी खर्बपति व्यापारी तथा फोब्र्सको धनाढ्य सूची अनुसार विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले यस अघि प्रस्ताव गरेकोभन्दा कम मूल्यमा घरेलु माइक्रोब्लगिङ वेबसाइट ट्विटर किन्न सकिने संकेत गरेका छन् ।
मस्कले मियामीमा आयोजित एक प्रविधि सम्मेलनमा अनलाइनमार्फत सहभागी हुने क्रममा सोमवार यस्तो बताएका हुन् । मस्कले नक्कली ट्विटर प्रयोगकर्ताबारे औंल्याउँदै केही दिनयता सम्झौता थाँती राखेका छन् ।
सम्मेलनमा मस्कले ट्विटर खरीदबारे पुनःवार्ता गर्न खोजिने र यसको मूल्य यस अघिकोभन्दा कम हुने बताएका थिए । उनको यो अभिव्यक्तिपछि सोमवार ट्विटरको शेयरमूल्य ८ दशमलव २ प्रतिशतले घटेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकारी पराग अग्रवालले आन्तरिक अनुमान अनुरुप विगत चार त्रैमासमा नक्कली प्रयोगकर्ता ५ प्रतिशतभन्दा कम रहेको हुन सक्ने बताएका छन् । तर मस्कलाई कम्पनीको अनुमानमा फिटिक्किै विश्वास छैन ।
मस्कले अहिले सम्झौतालाई स्पाम वा नक्कली खातालाई अड्को बनाएर राखेका छन् । यस विषयमा मस्क र पराग बीच ट्विट युद्ध नै छेडिएको छ । ट्विटरले दैनिक ५ लाख स्पाम खाता रोक्का गर्ने गरेको परागले बताएका थिए । यो भनेको कम्पनीको कुल सक्रिय प्रयोगकर्ताको ५ प्रतिशतभन्दा कम हो । आफूहरुको अनुमान तर्क संगत रहेको भएपनि वास्तविक संख्या योभन्दा पनि उच्च हुन सक्ने परागको भनाइ छ ।
तर मस्कले भने ट्विटरको कुलध्ये कम्तिमा २० प्रतिशत प्रयोगकर्ता नक्कली रहेको सम्मेलनमा भनेका थिए । मस्कको टोलीले र्यान्डम स्याम्पलिङ प्रोसेस मार्फत नक्कली खाताको वास्तविक संख्या पत्ता लगाउन लागि परेका छन् । अग्रवालले स्पाम मावनीय वा बोट कस्तो खालको हो भन्ने विवरण पनि दिएका छैनन् ।
ट्विटरका कयौं खाता झट्ट हेर्दा नक्कली वा स्पाम देखिए पनि यिनीहरु वास्तविक व्यक्तिकै भएको पाइएको छ । स्पाम खाता चिन्ने मामिलामा कम्पनी खासै राम्रो नभएको अग्रवाल स्वयंले पनि स्वीकार गरेका छन् ।
अग्रवालको १३ ओटा ट्विटमा मस्कले जवाफ दिएका छन् । एउटामा उनले आची इमोजी हालेका थिए । मस्कले अहिले बोटबारे थापेको अड्कोलाई ‘गृहकार्य गरेको थिएं तर कापी कुकरले च्यातिदियो भनेर विद्यार्थीहरुले बनाएको बाहना’ सँग वेडबसका विश्लेषक ड्यान इभ्सले तुलना गरेका छन् ।
सम्झौता पूरा हुने सम्भावना ५० प्रतिशतभन्दा कम रहेको उनको दाबी छ । मस्कले कम्पनी किन्लान् भन्ने अनिश्चिय बढेसँगै हालैका दिनमा कम्पनीको शेयर मूल्य ओरालो लागिरहेको छ ।
मस्कले सम्झौता थाँती राखेपछि शुक्रवार ट्विटरको शेयर१० प्रतिशतले घटेको थियो । सोमवार यसमा थप ८ दशमलव १८ प्रतिशतको कमी आएको थियो ।
मस्कले ट्विटर किन्ने घोषणा गरेयता बढेको शेयरमूल्य पछिल्लो समय सबै गुमिसकेको छ । सम्झौता भएन भने मस्कले सम्झौता रद्द गरेबापत १ अर्ब डलर शुल्क तिर्नु पर्नेछ । तर यसले पनि कम्पनीको शेयर मूूल्यलाई ३० डलरभन्दा तल झर्नबाट भने रोक्ने छैन ।
मस्कले जसरी भएपनि सम्झौता पूरा गर्छु भनेर देखाइरहेको भएपनि ट्विटर खरीदका लागि चाहिने रकमको जोहो कसरी गर्ने भनेर अहिले मस्कको टाउको दुखिरहेको छ । यो सम्झौताका लागि उनले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको शेयर बेच्ने हो कि भन्ने आशंकामा सम्झौताको घोषणा भएदेखि नै टेस्लाको शेयरमूल्य घटेको छ । बजार पूँजीकरण पनि ३ खर्ब गुमिसकेको छ ।
मस्कले ट्विटर खरीद सम्झौता थाँती राखेपछि शुक्रवार टेस्लाको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको थियो । मस्कले ट्विटर प्रतिकित्ता ५४ डलर २० सेन्टमा किन्ने प्रस्ताव गरेका थिए । अहिले यसको मूल्य ३७ डलर आसपास झरेको छ । एजेन्सीको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।