ट्विटरका लगानीकर्ताहरुले हाले मस्क विरुद्ध मुद्दा

Share News

जेठ १३, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरका लगानीकर्ताहरुले अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनी एलन मस्क र ट्वीटर विरुद्ध मुद्दा हालेका छन । 

कम्पनी खरिदका लागि मस्कले पेश गरेको प्रस्तावमा केन्द्रीत भएर क्यालिफोर्नियाको जिल्ला अदालतमा कम्पनीका लगानीकर्ता विलियम हेयर्सनियाकले सामूहिक मुद्दा दायर गरेका हुन् । कमस्कको प्रस्तावले कयौं रुपमा क्यालिफोनिर्याको कम्पनी कानूनको उल्लंघन गरेको आरोप मुद्दामा लगाइएको छ ।

मुद्दाअनुसार मस्कको झुठो अभिव्यक्ति  बजारमा चलखेलका कारण सन फ्रान्सिस्कोमा रहेको ट्विटरको मुख्यालयमा अस्तव्यस्थता सृजना भएको छ । मस्कले प्रतिकित्ता ५४ डलर २० सेन्टमा ट्विटर किन्ने प्रस्ताव गरेका थिए । अहिले कम्पनीको शेयरमूल्य प्रस्तावित मूल्य भन्दा २७ प्रतिशत तल छ । 

ट्विटरमा रहेको आफ्नो स्वामित्व सार्वजनिक गर्न ढिलाइ गरेर मस्कले वित्तीय रुपमा लाभ लिएको र कम्पनीको सञ्चालक समितिको सदस्य बन्ने उनको योजना भएको पनि मुद्दामा उल्लेख गरिएको छ । मस्कको कयौं ट्विटहरु भ्रामक रहेको दाबी पनि मुद्दामा गरिएको छ । मस्कले ट्विटर किन्ने सम्झौता थाँती राखेको भन्ने लगायत ट्वीटलाई यसमा समावेश गरिएको छ ।

मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्ने प्रस्ताव गरेका थिए । तर उनले प्रस्ताव गरिएको भन्दा कम रकममा कम्पनी किन्ने खोजिरहेको विश्लेषण गरिएको छ । ट्विटरमा रहेका नक्कली खाता  वा बोट्सबारे चासो देखाउँदै मस्कले कयौं पटक ट्विट गरेका छन् । मुद्दाबारे मस्कका वकिल र टेस्लाले प्रतिक्रिया नदिएको बताइएको छ । यसबारे ट्विटरले  पनि केही बताउन नमानेको भन्दै बीबीसीले समाचार छापेको छ । एजेन्सी 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।