साप्ताहिक कार्यदिन पाँचबाट चारमा झार्ने कसरत

Share News

अहिले अधिकांश मुलुकमा दैनिक र साप्ताहिक कार्यघण्टा सम्बन्धमा कानूनले नै निर्देशित गरेको छ । यद्यपि अपवाद स्वरूप कतिपय निजी प्रतिष्ठानले कतिपय देशमा अव्यावहारिक बिहान ९ बजेदेखि राति ९ बजेसम्म हप्ताको ६ दिन कार्यपद्धति लागू नगरेका होइनन् तापनि अन्तरराष्ट्रिय श्रम संगठनले तोकेअनुसार अहिले अन्तरराष्ट्रिय रूपमा नै साप्ताहिक ४० कार्यघण्टालाई मापदण्ड मानिएको छ । चीनकै कानूनले पनि हप्तामा ४४ घण्टा मात्र काम गर्नुपर्ने कुरा निर्देशित गरिसकेको परिप्रेक्ष्यमा यो पद्धतिलाई विश्वव्यापी मान्न सकिन्छ । तर, नेपालमा भने हप्ताको २ दिन बिदा दिने निर्णयबाट सरकार पछि हटेको छ । १ महीनामै परिणाम नआउने हुँदा यसो गर्नु उपयुक्त मान्न सकिँदैन ।

अहिले अन्तरराष्ट्रिय रूपमा नै पाँचदिने कार्यदिनलाई छोट्याएर चारदिने गर्नुपर्ने बारेमा आम बहस शुरू भइसकेको अवस्थामा नेपालमा भने ५ कार्यदिन गर्दा आकाशै खसेको जस्तो गरी विरोध हुँदा सरकार निर्णयबाट पछि हटेको छ ।

त्यसो त अपवादलाई नै हेर्ने हो भने अहिले पनि जापान, सिंगापुरजस्ता देशका कतिपय कम्पनीमा हप्ताको ६ दिने कार्यपद्धति भएको मात्र होइन, अझ सूचनाप्रविधिजस्ता क्षेत्रमा काम गर्नेहरूले त दैनिक १० घण्टासम्म पनि काम गर्ने गरेको पाइन्छ । तर, यसरी अपवादका रूपमा रहेका कम्पनीहरूले अवलम्बन गरेको कार्यपद्धतिलाई नै अन्तरराष्ट्रिय मानकका रूपमा भने ग्रहण गर्न उपयुक्त देखिँदैन ।

वास्तवमा १९औं शताब्दीको औद्योगिक क्रान्ति हुनु अघिसम्म कम्पनी, कारखाना वा कार्यालयहरूमा कति समय बसेर काम गर्ने हो भन्ने बारेमा कुनै सीमा थिएन । कति बेलासम्म काम गर्नुपर्ने हो भन्ने अनभिज्ञताकै बीचमा उनीहरूको दैनिक कार्य शुरू हुने गर्दथ्यो । औद्योगिक क्रान्तिले श्रमिकको पक्षमा भएका यस्तै अन्यायलाई निर्मूल गर्ने आधार खडा गर्‍ यो । खासगरी अमेरिकी श्रमिक संगठन (अमेरिकन लेबर युनियन) ले यस्तो परिपाटीको विरुद्ध गरेको कडा संघर्षको परिणामस्वरूप सन् १९४० मा हप्तामा ४० घण्टे कार्यपद्धति लागू हुन पुग्यो ।

तर, त्योभन्दा अघि नै आधुनिक विश्वमा सबैभन्दा पहिले ‘फोर्ड’का संस्थापक हेनरी फोर्डले आजभन्दा ९६ वर्षअगाडि सन् १९२६ मा नै हप्तामा ४० घण्टा हुने गरी पाँचदिने कार्यपद्धति अँगालेका थिए । फोर्डले कामदारहरूको नैतिकता, उत्पादकत्व तथा उपस्थितिलाई सकारात्मक प्रभाव पार्ने भनी यो लागू गरेका थिए । नभन्दै त्यसको नतिजा पनि अहिले छर्लंगै देखिएको छ ।

दशकौंदेखि गरिएका अनुसन्धानहरूले हप्ताको ६ दिने कार्य दिनको तुलनामा पाँचदिने कार्य दिनका अनेकौं सकारात्मक प्रभावहरू हुने पत्ता लागेको छ । तिनको निष्कर्षमा ६ दिने कार्यपद्धतिले श्रमिकको स्वास्थ्य, पारिवारिक जीवन तथा उत्पादकत्वमा समेत नकारात्मक प्रभाव पार्ने स्पष्ट छ ।

यूरोपेली संघको निर्देशनले साप्ताहिक कार्यदिनका बारेमा केही उल्लेख नगरी हप्तामा अधिकतम ४८ घण्टाको सीमा निर्धारण गरेको छ । त्यहाँ अहिले औसतमा साढे ३७ घण्टाको कार्य हप्ता रहेको बताइन्छ । कार्य दिनका बारेमा रहेको युरोपेली संघको यही मौनताको आलोकमा बरु दैनिक १० घण्टा काम गर्ने तर साप्ताहिक रूपमा ४ दिन मात्र गर्ने गरी कतिपय संगठनले व्यवस्था गरिसकेका छन् । यस्तै प्रचलन अमेरिकी कम्पनीहरूले पनि अवलम्बन गर्न थालेका छन् । यो विकसित अवधारणासँगै अहिले विश्वमा चारदिने कार्य हप्तासम्बन्धी बहसले व्यापकता पनि पाउन थालेको छ ।

‘रिडिग विश्वविद्यालय’को हेन्ले बिजनेश स्कूलले गरेको एक अध्ययनले हप्ताको चारदिने कार्य पद्धति अवलम्बन गरेका बेलायतका कम्पनीमध्ये दुई तिहाइभन्दा बढी कम्पनीमा कर्मचारी तथा कामदारको उत्पादकत्वमा अभिवृद्धि भएको पाइएको थियो । ५ दिनको सट्टा ४ दिन कार्यालय सञ्चालन गर्दा कर्मचारीहरूको आत्मबल बढेको, तनावको मात्रा घटेको तथा बिरामी हुने डर पनि दुई तिहाइले नै न्यून भएको उक्त अध्ययनले देखाएको थियो । कम्पनीहरूमा पाँचदिने कार्य दिनका कारण कार्यरत कम्पनी छोडेर अर्को कम्पनीमा हुने कर्मचारीहरूको बहिर्गमनलाई पनि यसले नियन्त्रण गरेको पाइएको छ ।

नेदरल्याण्ड्सको ‘पर्पेचुअल गार्जेन’ नामक कम्पनीले हालै मात्र आफ्ना कर्मचारीहरूको तलब तथा सुविधामा कुनै कटौती नगरी हप्तामा चारदिने कार्य पद्धति अवलम्बन गरेको परिणाम स्वरूप उक्त कम्पनीले आफ्ना कर्मचारीमा तनावको मात्रा कम भएको मात्रै होइन कि उत्पादकत्वमा समेत वृद्धि भएको बताएको छ ।

विश्व प्रसिद्ध लेखा परीक्षणसम्बन्धी कम्पनी ‘केपीएमजी’ ले पनि यस्तै चारदिने कार्यपद्धति अवलम्बन गरेको छ । यसबाट कर्मचारीहरूको उत्पादकत्व वृद्धि मात्र होइन इन्धनको खपतमा ह्रास ल्याई वातावरण प्रदूषण कम गर्नसमेत सकारात्मक योगदान गरेको बताइन्छ । त्यसका अतिरिक्त कार्य जीवन सन्तुलनलाई यसले थप सकारात्मक प्रभाव पार्ने कुरा पनि स्पष्ट नै छ । साथै, यस्तो पद्धतिले कम्पनीहरूको सञ्चालन खर्च कटौती गरी समग्र अर्थतन्त्रमाथि नै सकारात्मक योगदान गरेको ‘केपीएमजी’ को आकलन छ ।

हुन त कतिपय व्यक्ति कार्यालय वा कम्पनीमा लामो समयसम्म काम गर्न रुचाउने स्वभावका हुन्छन् । उनीहरूलाई घरमा भन्दा कम्पनीमा काम गर्दा स्फूर्ति बढेको जस्तो महसूस हुन्छ । तर, ‘हाबर्ड बिजनेस रिभ्यू’ मा प्रकाशित विद्वान् लेखन हेलेटको एक अनुसन्धान लेखअनुसार यसरी कम्पनीमा घण्टांै काम गर्दा रमाउने प्रकृतिका व्यक्तिहरूमा नजानिँदो ढंगले नकारात्मक प्रभाव पारिरहेको हुन्छ । उनीहरूको लागि काम ‘नशा’ का रूपमा परिणत हुन्छ र त्यस्ता व्यक्तिमध्ये आधाजतिको स्वास्थ्य ‘खराब’ बाट ‘झन् खराब’ तर्फ डोरिने हुन्छ । त्यस्ता कतिपय व्यक्ति राति घरमा बस्दा पनि आफू थुनिएको महसूस गर्छन् र बाँझोपना, मोटोपना, अनिद्रा तथा मुटुको समस्याले समेत ग्रस्त हुने हुन्छन् । यस्तै नकारात्मक प्रभावबाट मुक्त राख्ने दायित्व निर्वाह गर्न पनि संकुचित कार्य दिनको कार्यान्वयनमाथि उनले जोड दिएका छन् ।

यिनै विश्वव्यापी अनुसन्धानको आधारमा अहिले कार्य दिन घटाएर स्वस्थ श्रमिकमार्फत बढीभन्दा बढी उत्पादकत्व लिने बहसमा कम्पनीहरू उत्रिएका छन् । त्यसै लहडको भरमा कार्य दिन ६ बाट ५ हुँदै ४ मा कायम गर्ने तर्फको बहस प्रारम्भ भएको होइन ।

नेपालमा पनि हालै आएर सरकारले सोमवारदेखि शुक्रवारसम्म दैनिक ८ घण्टाको दरले हप्तामा ४० घण्टा नै कार्यघण्टा रहने गरी शनिवार र आइतवार बिदा दिने निर्णय गरेको थियो । कतिपय निजी व्यवसायी तथा शैक्षिक संस्थाले यसको विरोध गरे । सरकारले पनि पूर्ण अध्ययन नगरी अलिक हतारमा बिदा दिने निर्णय गर्‍ यो । पेट्रोलियम पदार्थ बचाउन भनी दिएकाले यसको बढी विरोध भयो । कार्य उत्पादकत्व र निजी जीवनको पक्षबाट यस्तो निर्णय गरेको भए शायद विरोध हुँदैनथ्यो होला ।

अहिले अन्तरराष्ट्रिय रूपमा नै पाँचदिने कार्यदिनलाई छोट्याएर चारदिने गर्नुपर्ने बारेमा आम बहस शुरू भइसकेको अवस्थामा नेपालमा भने ५ कार्यदिन गर्दा आकाशै खसेको जस्तो गरी चित्रण गरियो । मानौं २ दिन बिदा दिँदा विकासको गति नै ठप्प हुन्छ, सार्वजनिक सेवा प्रवाह ठप्प हुन्छ जस्तो गरी विरोध गरियो र सरकार १ महीना पनि नपुग्दै आफ्नो निर्णयबाट पछि हट्यो । साप्ताहिक कार्यदिन निर्धारण हुँदा गरिएका विश्वव्यापी अध्ययन, अनुसन्धान र उत्पादकत्वजस्ता कुरालाई पूर्णरूपमा बेवास्ता गरेको पाइन्छ, जसले गर्दा हामी व्यवस्थापनमा पुरानै ढर्रामा रमाउँछौं भन्ने पुष्टि गरेको छ ।

लेखक बैंकर हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।