जेठ २५, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले जेठ १९ गतेदेखि विक्रीमा ल्याएको एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमा आवेदन दिने आज (बुधवार) अन्तिम दिन रहेको छ ।
योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो ।
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना सर्वसाधारणमा जारी हुने कुल इकार्ईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल विक्री भएको इकाईसंख्याको १५ प्रतिशत कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो ।
यस इकाई खरीदका लागि न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म माग गर्न पाउने व्यवस्था गरेको छ ।
इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी क्यापिटल आफैले पूरा गरेको छ ।
इच्छुक आवेदकहरुले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
बन्दमुखी प्रकृतिको यस योजना ७ वर्षमा परिपक्व हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।