१८ % भन्दा धेरैले घट्यो विदेशी मुद्राको सञ्चिति, रेमिट्यान्स आप्रवाहमा पनि १.६ % ले कमी

Share News

जेठ २७, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा विदेशी मुद्राको सञ्चिति १८.३ प्रतिशतले घटेको छ ।

२०७८ असारमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा २०७९ बैशाखमा आइपुग्दा १० खर्ब १७ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ । यो तथ्याङ्कमा बैंक तथा वित्तीय संस्थामा रहेको १ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ विदेशी मुद्रा पनि समावेश छ ।

बैंक तथा वित्तीय संस्थामा २०७८ असारसम्म १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेकोमा त्यो पनि १६ प्रतिशतले घटेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।

पछिल्लो १० महीनाको आयातको अवस्थालाई आधार मान्दा उक्त विदेशी मुद्रा सञ्चितिले ६.५७ महीनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै चालू आवको १० महीनामा रेमिट्यान्स आप्रवाह पनि १.६ प्रतिशतले घटेको छ । विदेश जाने कामदारको संख्यामा भने १८५ प्रतिशत वृद्धि भएको पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

विदेशीने नेपालीको संख्या बढेपनि रेमिट्यान्स आप्रवाह भने ६ अर्ब ७५ करोड डलरमा सीमित भएको छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १६ प्रतिशतले बढेको थियो ।

अहिले डलरमा रेमिट्यान्स घट्दा पनि डलर महँगिएका कारण नेपाली रुपैयाँमा भने ०.२ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको राष्ट्र बैंकले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।