वाशिङटन डीसी (अमेरिका) । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएको छ । बुधवार बैंकले महँगी नियन्त्रण गर्न भन्दै प्रमुख ब्याजदर शून्य दशमलव ७५ प्रतिशतले बढाएको हो । ब्याजदरमा गरिएको यो सन् १९९४ यताकै आक्रामक वृद्धि हो ।
यस अघि नै बैंकले ब्याजदर आक्रामक रुपमा बढाउने अड्कल बाजी चुलिएको थियो । योसँगै अब भने ब्यजादर बढेर १ दशमलव ५ प्रतिशतदेखि १ दशमलव ७५ प्रतिशतबीच कायम भएको छ । यो सन् २०२० को मार्चमा कोरोना भाइरसको महामारी शुरु हुनु पूर्वयताकै उच्च हो ।
ब्याजदर वृद्धिको घोषणा पछि शेयर बजार अस्थीर बनेको भएपनि नीतिगत बैठकपछि फेड अध्यक्ष जेरोम पावेलको अभिव्यक्तिपछि भने बजारमा केही सुधार आएको थियो । बुधवार गरिएको वृद्धि असमान्य रुपमा ठूलो भएको र सामान्य अवस्थामा यति ठूलो वृद्धिको अपेक्षा आफूले नगरेको पावेलले भनेका छन् ।
यद्यपि, जुलाईमा पनि ब्याजदर शून्य दशमलव ५० प्रतिशतदेखि शून्य दशमलव ७५ प्रतिशतले बढ्न सक्ने उनले बताए । ब्याजदर वृद्धिको निर्णय बैठकै पिच्छे गरिने र फेडले सकेसम्म स्पष्ट भएर आफ्नो ब्याजदर वृद्धिको आशयबारे सर्वसाधारणलाई जानकारी दिने पनि पावेलले बताए ।
फेडले महँगी नियन्त्रण गर्न पछिल्लो समय नीतिलाई आक्रामक रुपमा कसिलो पारिरहेको छ । यति गर्दा महँगी घटेन भने आफूहरुले प्रतिक्रिया जनाउने पनि उनले बताए । यद्यपि, छिटै महँगी घट्न थाल्ने आशा उनले गरेका छन् । अमेरिकामा गएको महीना मुद्रास्फीति सन् १९८१ को डिसेम्बरयताकै उच्च स्तरमा उक्लिएको छ ।
यसलाई नियन्त्रणमा ल्याउन फेडले यस वर्षको अन्त्यसम्मा ब्याजदर बढाएर ३ दशमलव ४ प्रतिशतमा पुर्याउने फेडको खुला बजार समितिको अपेक्षा छ । यो मार्चमा गरिएको अनुमानको भन्दा १ दशमलव ५ प्रतिशत धेरै हो । सन् २०२३ मा ब्याजदर बढेर ३ दशमलव ८ प्रतिशत पुग्ने समितिको अपेक्षा छ ।
फेडको पछिल्लो फैसलासँगै बुधबार अमेरिकी शेयर बजारमा उछाल आएको थियो । दाउ जोन्स ३० हजार ५५० अंकमाथि आएको थियो । एसएन्डपी पनि १ प्रतिशतले बढेर ३ हजार ७७० अंकमाथि उक्लिएको थियो । फेडले यस वर्षको अमेरिकी आर्थिक वृद्धिको प्रक्षेपणमा उल्लेख्य कटौती गरेको छ ।
मार्चमा २ दशमलव ८ प्रतिशत रहेको वृद्धि प्रक्षेपण अहिले घटाएर १ दशमलव ७ प्रतिशतमा झारिएको छ । पहिलो त्रैमासमा घटेको आर्थिक गतिविधि दोस्रो त्रैमासमा समग्रमा बढेको छ । रोजगारी सृजना हालैका महीनामा सुदृढ छ, बेरोजगारी दर न्यून छ । तर महँगी भने बढेको छ । समग्र अर्थतन्त्रमा मूल्य वृद्धिको दबाब रहेको बताइएको छ । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।