असार ८, न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ ५ प्रतिशतले घटेको छ ।
महँगी नियन्त्रण गर्न विश्वभर ५ दर्जनभन्दा बढी केन्द्रीय बैंकहरुले ब्याजदर कसिलो बनाउने क्रम रहेपछि विश्व अर्थतन्त्र मन्दीमा जाने र यसले तेलको माग प्रभावित हुने चिन्ता व्यापारीहरुमा बढेसँगै बुधवार तेल बजार ओरालो लागेको हो ।
उक्त दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ ५ दशमलव शून्य ९ प्रतिशतले घटेर प्रतिब्यारेल १०३ डलर ९२ सेन्टमा आएको छ । लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ४ दशमलव ७ प्रतिशतले घटेर १०९ डलर २६ सेन्टमा ओर्लिएको थियो ।
यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो १ः२२ मा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १०९ डलर ३६ सेन्ट रहेको थियो । सोही समयमा डब्ल्यूटीआई पनि १०३ डलर ७४ सेन्ट कायम भएको थियो । रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वभर तेलको माग अनुरुप आपूर्ति नुहने चिन्ताबीच हालैका महीनामा कच्चा तेलको भाउ कयौं वर्षयताकै उच्च स्तरमा उक्लिएको थियो ।
इन्धनको भाउमा भएको वृद्धिसँग गहुँलगायत कयौं खाद्यान्नको मूल्य वृद्धि, आपूर्ति शृङ्खलामा देखिएको अवरोधलगायत कारणले गर्दा अहिले विश्वका कयौं देशमा महँगी सन् १९८० को दशकयताकै उच्च स्तरमा उक्लिएको छ । यस्तोमा महँगी नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले धमाधम ब्याजदर बढाइरहेका छन् ।
ब्याजदर वृद्धिसँगै माग सुस्ताउने र आर्थिक गतिविधि प्रभावित भएर आर्थिक मन्दी निम्तने चिन्ताबीच कच्चा तेल बजार ओरालो लागेको हो ।भारतीय आयल कर्पोरेशनले मूल्य बढाएको भन्दै नेपाल आयल निगम(एनओसी) ले आइतवार प्रतिलिटर पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/ मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो ।
योसँगै नेपालमा पेट्रोलको भाउ प्रतिलिटर पेट्रोल १९९ र डिजेल मट्टितेल १९२ को कीर्तिमानी उच्च स्तरमा उक्लिएको छ । निगमले गरेको पछिल्लो मूल्य वृद्धि इतिहासकै सर्वाधिक धेरै हो ।
गएको एक महीनाको अवधिमा पेट्रोलियम पदार्थको भाउ ५९ रुपैयाँ बढिसकेको छ । गएको माघयता पेट्रोलको भाउ १० पटक बढाइँदा एक पटक मात्रै घटाइएको निगमको तथ्यांकले देखाएको छ । भारतमै समेत जनतामाथि महँगीको भार कम गर्न सरकारले तेलमा लिंदै आएको अन्तः शुल्क घटाएको थियो ।
तर नेपालमा भने एनओसीले पेट्रोल पम्पहरुलाई लाभ हुने गरी भाउ बढाएर सर्वसाधारणलाई मारमा पारेको छ । एजेन्सीहरुको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।