बागमती प्रदेशसभा : सकियो बजेटसम्बन्धी छलफल, आज बजेट पारित गर्ने तयारी 

Share News

असार १६, काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ । गत आइतवार शुरु भएको उक्त छलफल गए राति सकिएको हो । 

प्रदेशसभाको दशौं अधिवेशनअन्तर्गत बुधवारको बैठकमा प्रदेशसभा सदस्यहरूले मन्त्रालयको विषयगत शीर्षकमाथि प्रश्न गरेका थिए । उक्त प्रश्नको सम्बन्धित मन्त्री तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिएका थिए । बैठकमा मुख्यमन्त्री पाण्डेसहित, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम पौडेल, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्त मानन्धर, श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, वन तथा वातावरणमन्त्री विशाल खड्का, कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईं, स्वास्थ्यमन्त्री निमा लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले बजेटबारे उठाएका प्रश्नको जवाफ दिएका थिए । 

प्रश्नको जवाफ दिंदै उनीहरूले प्रदेशको समग्र विकासका लागि आएका योजनाका लागि बजेट पर्याप्त नभए पनि सरकारले सक्दो प्रयास गर्ने गरेर आवश्यक योजनामा बजेट विनियोजन गरेको बताए । उनीहरूले विगतका सरकारले ल्याएको जस्तो हचुवा र महत्त्वकांक्षी योजना वर्तमान सरकारले बजेटमा समावेश नगरेको दाबी गरे । सरकारले लक्ष्यअनुसार, योजना कार्यान्वयन गरेर खर्च गर्ने गरी बजेट विनियोजन गरेको र क्रमागत योजनाका लागि कार्यविधि नै तयार पारेर अघि बढाएको उनीहरूको भनाइ थियो । 

प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा बजेट पारित गर्ने तयारी गरिएको बताइएको छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।