विद्युत् प्राधिकरण र आईएसपीहरूको पोलभाडा विवादले इन्टरनेट सेवा बन्द हुनुहुँदैन: खनाल 

Share News

असार १७, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरूको पोलभाडा विवादले इन्टरनेट सेवा बन्द हुन नहुने भन्दै इन्टरनेट सेवा अत्यावश्यक सेवाभित्र रहेको विषयलाई ख्याल गर्न आग्रह गरेका छन् ।

उनले लामो समयदेखि कुरा चल्दै आएको सहप्रयोगसम्बन्धी कार्यविधि एक हप्ताभित्र जारी गर्ने पनि जानकारी दिए । सहप्रयोगको कार्यविधि जारी भएपछि इन्टरनेट सेवा प्रदायकहरूले अहिलेजस्तो जथाभावी तारको प्रयोग गर्न नपाउने र पोलमा झुण्डिएका तारका गुजुल्टा केही कम हुने उनले  बताए ।

यसले गर्दा आईएसपीहरूको लागत कम पर्ने र उपभोक्ताले सस्तोमा इन्टरनेट सेवा पाउने सम्भावना रहेको उनको तर्क थियो । 

यस्तै, इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आईस्पान)का अध्यक्ष सुधीर पराजुलीले नेपाल टेलिकम र विद्युत प्राधिकरणका पोलकै कारण इन्टरनेट सेवा सबैतिर पुर्याउन सम्भव भएको तर भाडामा एकाधिकार जमाएर महँगो शुल्क असुलेको आरोप लगाए ।

उनले पोल भाडा तोक्ने विषयमा विद्युत् प्राधिकरणको मनोमानी भइरहेको भन्दै नियामक गर्ने निकाय आवश्यक रहेकोमा जोड दिए । 
‘विद्युत प्राधिकरणको पोलका कारण हामीले इन्टरनेट सेवा विस्तार गर्न पाएका छौं, उपभोक्ताले छिटो र सस्तोमा सेवा पाएका छन् । तर, पोलभाडाको विषयमा भने प्राधिकरणको एकाधिकार रहेको छ । दररेट निर्धारण गर्ने फरक निकाय हुनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने । 

‘प्राधिकरणले जानकारीबिना पोल सार्दा पनि इन्टरनेट जान्छ, गुणस्तरमा समस्या आउँछ, हामीले उपभोक्ताबाट गाली खाने रहर होइन, बाध्यता हो । गुणस्तरीय सेवा दिएर तारिफ पाउन रहर भए पनि विभिन्न समस्या बाधक छन्,’ आईस्पानका अध्यक्ष पराजुलीले भने । 

अन्तरक्रिया कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका निर्देशक मनोज सिलवाल, दूरसञ्चार प्राधिकरणको उपनिर्देशक अच्युतानन्द मिश्र, सूचना प्रविधिविज्ञ मनोहर भट्टराई, आईस्पानका पूर्वअध्यक्ष विनय बाेहरा, प्रधानमन्त्री शेरबहादुर देउवाका सूचना प्रविधिविज्ञ दीपेश विष्ट लगायतले विद्युत प्राधिकरण र आईएसपीहरूले विद्युत पोलभाडाको विषय टुंगोमा पुर्याएर नागरिकलाई गुणस्तरीय इन्टरनेट दिनुपर्नेमा जोड दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।