फुटपाथको व्यापारले उब्जाएको सवाल

Share News

केही दिनअघि बालुवाटार सडक किनारामा बसी मकै बेच्ने एक जोडी व्यापारीलाई काठमाडौं महानगरको नगर प्रहरीले हरियो मकैसहितको ठेलागाडा गाडीमा हालेर लगेको घटनाले सामाजिक सञ्जालको भित्ता भरिन पुग्यो । यस कार्यलाई कतिपय व्यक्तिले महानगरको संवेदनाहीन कार्य भनेका छन् भने कतिपयले यसलाई पैदल यात्रीको हकहितसँग जोडेर उचित ठानेका छन् ।

नगर प्रहरी र सडक व्यापारीबीच हुने घम्साघम्सी, भागदौड पहिलेदेखि नै हुँदै र देख्दै आएका छौं । व्यापारीले फुटपाथ, सडक किनारामा बसेर व्यापार गर्नु बाध्यता नै हो त ? अनि नगर प्रहरीले फुटपाथबाट व्यापारीलाई उठाउनु वा हटाउनु नाजायज हो त ? फुटपाथ व्यापारीका लागि हो या पैदल यात्रीका लागि ?

सम्बद्ध नगरपालिकाले फुटपाथमा दिनहुँ जस्तो हुने साना तथा मझौला व्यापारलाई व्यवस्थापन गर्न नसक्दा यस्ता समस्या आउने गरेका छन् ।

राज्यले सडक निर्माण गर्दा नै त्यसको दायाँ बायाँ अनिवार्य रूपमा फुटपाथ हुनुपर्ने कुराको परिकल्पना गरेको हुन्छ । नेपाल राजपत्रमा २०३४ सालमा सूचना प्रकाशित गरी देशको प्रत्येक शहरी मार्गमा न्यूनतम १ मीटरदेखि अधिकतम ५ मीटरसम्म (सहायक, जिल्ला र राजमार्गबाहेक)को फुटपाथ रहने व्यवस्था गरेको छ । फुटपाथ पैदल यात्रीका लागि बनाइएको हुन्छ । राज्यले आवश्यकताको आधारमा सडक किनारामा फुटपाथ निर्माण गरेको हुन्छ । पैदल यात्री तथा सवारीसाधनको आवागनमा कुनै किसिमको बाधा अवरोध आउन नदिनको लागि सडकमा कुनै किसिमको निर्माण सामग्री थुपार्न, सवारी पार्किङ गर्न, व्यापार गर्न नपाउने व्यवस्था गरेको हुन्छ । अहिलेको अवस्थामा फुटपाथ अपांगमैत्री समेत हुनुपर्ने भएको छ । त्यसैअनुसार फुटपाथ अपांग मैत्री बनाइएको हुन्छ ।

काठमाडौंको मुटु मानिने असन क्षेत्र व्यापारीको चहलपहलले गर्दा नै असन बजार कहलिन गएको हो । मानिसहरूको बढ्दो आवतजावत, फुटपाथको व्यापारले त्यहाँको सडक, बाटो झनै साँघुरिन पुगेको छ । अहिले पनि काठमाडौंको रत्नपार्क, असन, इन्द्रचोक, महाबौद्ध, वसन्तपुर, नयाँ सडकतिरको सडक पेटी, किनारा वरिपरि व्यापारीको बाक्लो उपस्थिति देख्न सकिन्छ । ललितपुरको लगनखेलदेखि मंगलबजार क्षेत्रको सडक किनारामा पनि यसरी नै व्यापारीको उपस्थिति देख्न सकिन्छ । यतिसम्म कि सडक, बाटो पार गर्न बनाइएको आकासे पुल, जमिनमुनिको (अन्डरग्राउन्ड) बाटो, सम्पदामा समेत व्यापार गर्नेको भीड छ । कुनै मन्दिर वरिपरिको फुटपाथमा पूजा सामग्री बेच्नेको भीड छ त कुनै बसपार्क, मनोरञ्जन पार्क, व्यापारिक कम्प्लेक्स, कार्यालयको वरिपरि फुटपाथमा पत्रपत्रिका, जुत्ता, लुगा कपडा, पानीपुरी, चटपटे, चियापानी बेच्नेको भीड लागेको हुन्छ । मकै पोल्ने, फलफूल, सुर्ती, चुरोट, पानी, मोबाइलको सामान, झोला, पेटी आदि बेच्नेदेखि ज्योतिष हेर्ने, मानिसको तौल हेर्ने, भीख माग्नेको पनि फुटपाथमा बाक्लै उपस्थिति देखिने गरेको छ ।

देशको विभिन्न ठाउँबाट आएर फुटपाथलाई नै आफ्नो व्यापारिक थलोका रूपमा प्रयोग गरी आफ्नो दैनिक जीवन गुजारा गर्नेको संख्या शहरमा थुप्रै देख्न सकिन्छ । फुटपाथमा ठेलागाडा लगाई, पाल टाँगी, साइकल बिसाइ व्यापार गर्नेको संख्या अहिले उपत्यकाको हरेक सडक, बाटो, गल्ली, चोकमा लामो लस्कर नै देख्न सकिन्छ । सडक, बाटोलाई आफ्नो अधिकारका रूपमा कब्जा गरी निरन्तर रूपमा व्यापार गर्दै आएका हुन्छन् । यस्ता सडक व्यापारीलाई कतिपय घरधनीले नै संरक्षण दिई व्यापार गर्न दिइरहेका हुन्छन् त कतिपय ठाउँमा सम्बद्ध नगरपालिकाले निश्चित राजस्व लिई व्यापार गर्न दिइरहेका हुन्छन् । सबैले आफ्नो अधिकार मात्र खोज्ने, प्रयोग गर्ने तर अरूको अधिकारप्रति सचेत नहुने कार्यले फुटपाथ व्यापारमा बारम्बार समस्या आउने गरेको हो । फुटपाथको व्यापार कसैका लागि रहर या बाध्यता जे भए पनि यसलाई अधिकारका रूपमा लिनु उचित हुँदैन ।

कुनै किसिमबाट सार्वजनिक सडक, बाटोघाटो, रज्जुमार्ग, केबुलकार मार्ग, विमानस्थल, रेलवे वा जलपरिवहन मार्ग अवरुद्ध गरी पैदल यात्री, सवारीसाधनको आवागमनलाई बाधा पुर्‍याउन नहुने गरी मुलुकी अपराध संहिता, २०७४ को दफा ६७ मा कानूनी व्यवस्था गरेको छ । त्यसैले सडक पेटी, किनारामा बसी कुनै किसिमको व्यापार गरी यस किसिमको सडक मार्ग कसैले पनि अवरुद्ध गर्नु न्यायोचित हुँदैन ।

स्थानीय बजार व्यवस्थापनलाई स्थानीय तहको एकल अधिकारका रूपमा नेपालको संविधानले अनुसूची ८ मा समावेश गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को अनुसार स्थानीय बजार व्यवस्थापन गर्ने काम, कर्तव्य र अधिकार सम्बद्ध गाउँ वा नगरपालिकाको हुनेछ । सम्बद्ध नगरपालिकाले स्थानीय व्यापार, वस्तुको माग तथा आपूर्ति, उपभोक्ताको अधिकार तथा अनुगमन विषयमा नगर सभाले निर्णय गरी आवश्यक नीति, कानून, मापदण्ड बनाई कार्यान्वयन गर्न तथा स्थानीय व्यापारको नियमन गर्न सक्छ ।

नगरपालिकाले फुटपाथ, सडक किनारामा बसी हुने व्यापारलाई कानूनको दायरामा ल्याई त्यसको उचित व्यवस्थापन गरी राजस्व असुलउपर गर्न समेत सक्छ । नगरपालिकाले व्यापारको प्रकृति, समय, स्थान, विक्री गरिने वस्तु, सडकको अवस्था, पैदल यात्री तथा सवारीसाधनको चाप आदिलाई ध्यानमा राखी आवश्यक नीति, मापदण्ड बनाई स्थानीय बजार व्यवस्थापन गर्न सक्छ ।

अव्यवस्थित सडक, बाटोका कारण फुटपाथबाट हिँड्ने पैदलयात्रीले समेत सकसपूर्ण यात्रा गर्नुपर्ने अवस्था हुन्छ । अपांगता भएका व्यक्तिहरूलाई हिँड्न अवश्य पनि सहज हुनेछैन । सडक पेटीमा हुने भीडभाडले चोरीको घटना घट्ने, संक्रामक रोग फैलिन सक्ने, दुर्घटना हुने सम्भावना पनि रहन्छ । फुटपाथको व्यापारले सवारी आवागमनमा बाधा पुग्ने, पैदल यात्रीको आवतजावत गर्ने अधिकारमाथि अतिक्रमण हुने, फोहोर बढ्ने कुरामा विवाद छैन ।

पैदल यात्रीले सार्वजनिक सडक, विभिन्न स्थान, पार्क आदिमा सहजतापूर्व आवतजावत गर्न पाउनुपर्छ । सडकमा सवारीसाधनको सहज आवागमन हुन पाउनुपर्छ । फुटपाथको व्यापारले कैयौं मानिसको आर्थिक अवस्था अवश्य बलियो होला र गरीबी निवारणमा पनि सहयोग पुग्ला । तर, फुटपाथको व्यापारले शहरको सुन्दरतामा भने पक्कै पनि नराम्रो असर पर्नेछ । त्यसैले सभ्य र सुन्दर शहर निर्माणका लागि फुटपाथ बजारको उचित व्यवस्थापन गर्नु अति आवश्यक भइसकेको छ ।

लेखक अधिवक्ता हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।