एलन मस्कका कारण ध्वस्तै भयो ट्विटर !

Share News

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले माइक्रोब्लगिङ वेबसाइट ट्विटर ध्वस्तै बनाएर छाडेका छन् । वर्षौसम्म ट्विटर रनर–अप सामाजिक सञ्जाल थियो । त्यसपछि आए एलन मस्क । 

उनी ट्विटरका सक्रिय प्रयोगकर्ता थिए । अनि विस्तारै उनी कम्पनीको सबैभन्दा ठूलो शेयरधनी बने । उनले ४४ अर्ब डलरमा कम्पनीको बाँकी सबै शेयर किन्ने प्रस्ताव ल्याए । आफ्नो स्वामित्वमा भए कम्पनीले राम्रो प्रदर्शन गर्छ भन्ने उनको दाबी थियो । ट्विटरका कार्यकारीहरुको अपमान गरे, कन्टेट नीतिलाई गिज्याए । प्रडक्टबारे गुनासो गरे । अनि आफ्ना घोषणाहरुमाफैत यसका ७ हजार भन्दा धेरै कर्मचारीलाई द्विविधामा राखे । ट्विटरको व्यवसाय र वित्तीय सम्भावना नभएको मस्कको अभिव्यक्तिपछि ट्विटरको शेयर मूल्य ३० प्रतिशतभन्दा धेरैले घट्यो । 

अन्ततः मस्कले ट्विटर किन्ने सम्झौताबाट हात झिके । मस्कले कम्पनी किन्छु भन्दा खेरिको तुलनामा अहिले कम्पनी निकै खराब अवस्थामा छ । हरेक ट्विट र सार्वजनिक रुपमा उनले गरेका उपहाससँगै ट्विटर प्रतिको विश्वास खस्कियो, कर्मचारीको मनोबल घट्दै गयो, सम्भावित विज्ञापनदाताहरु ससंकित बने । मस्कले कम्पनीको वित्तीय कठिनाईमाथि जोड दिइरहे । अनि कम्पनी कसरी सञ्चालन भइरहेको रहेछ त भनेर गलत सुचना प्रवाह गरे । 

ट्विटरसँग मस्कको आबद्धताले कम्पनीमा गम्भीर प्रभाव पारेको छ । कर्मचारी, विज्ञापनदाता र बजारले भविष्य अन्यौल भएको कम्पनीमाथि कसरी विश्वास गर्ने ? अब मस्कसँगको सम्झौता जसरी भएपनि पूरा गर्न कम्पनी अदालतको शरणमा गएको छ । कम्पनीले छिटोमा यही हप्ताभित्रै मस्कमाथि मुद्दा पनि हाल्दैछ । अदालती लडाई लामो समयसम्म चल्ने अनि यो गहन हुने देखिएको छ । 

महिनौंसम्म चल्ने अदालती लडाईका लागि खर्च पनि धेरै नै लाग्नेछ । अहिलेसम्म यो मुद्दा सल्टिने निश्चित छैन । ट्विटरले मुद्दा जित्न पनि सक्छ । तर यसले हार्यो भने मस्कले सम्झौता रद्द गरेबापत तिर्नु पर्ने शुल्क नतिर्न पनि सक्छन् । दुबैले नयाँ ढंगबाट वार्ता गर्न सक्छन् । वा यस विषयलाई आपसी सहमतिमा सुल्झाउने सम्भावना पनि छ । मस्कले सम्झौता रद्द गर्ने घोषणा गरेपछि सोमबार कम्पनीको शेयर एकै दिन ११ प्रतिशतभन्दा धेरैले घट्यो । (बुधबार भने शेयरमा ७ प्रतिशतभन्दा धेरैको करेक्सन देखिएको थियो ।)

अप्रिल २५ मा मस्कको खरिद प्रस्ताव स्वीकार गरेयता कम्पनीको शेयर मूल्य एक तिहाई भन्दा धेरैले घटिसकेको छ । मस्कले कम्पनीको शेयरलाई प्रतिकित्ता ५४ डलर २० सेन्ट दिने प्रस्ताव गरेका थिए । यो कम्पनीले पाउन सक्ने अहिलेसम्मकै उत्तम मूल्य ठानेर कम्पनीको सञ्चालक समितिले पनि सो अफर हत्तपत्त स्वीकार गरे । हालैका महीनामा ट्विटरको व्यवसाय खस्किँदै गएको थियो । 

मेमा कर्मचारीको नाममा प्रेषित गरिएको एक मेमोमा कम्पनीका सीईओ पराग अर्यालले कम्पनीले व्यवसाय र वित्तीय लक्ष्य पूरा गर्न नसकेको बताएका थिए । यो समस्या समाधान गर्न उनले प्रडक्ड र लेखा विभागका प्रमुख परिवर्तन गरे, कर्मचारी भर्ना सुस्त बनाए, नयाँ प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने प्रयास थाले र ई–कमर्शको विविधकरणमा जोड दिए । अप्रिलमा कम्पनीले कम्पनीको वित्तीय सम्भावनासम्बन्धी प्रक्षेपण सार्वजनिक गर्न बन्द गर्यो । 

मस्कको सम्झौता बिथोलिएपछि विज्ञापनदाताहरुलाई असहज  भइरहेको छ । निकट भविष्यमा कम्पनीलाई विज्ञापन दाता र प्रयोगकर्ताहरुलाई कम्पनी स्थिर हुनेछ भनेर विश्वास दिलाउनै कठिन हुने देखिएको छ । ट्विटरका शीर्ष कार्यकारीहरुलाई कटाक्ष गर्ने क्रममा मस्कले आफ्नो हातमा भएको भए कम्पनीलाई राम्रोसँग चलाउन सक्ने अभिव्यक्ति दिएका थिए । 

मेमा लगानीकर्ताहरुलाई दिइएको एक प्रिजेन्टेशनमा उनले सन् २०२८ सम्म कम्पनीको आम्दानी चौब्बर बनाउँदै २६ अर्ब ४० करोड डलरमा पुर्याउने र प्रयोगकर्ताको संख्या समेत गत वर्षको अन्त्यतिरको २१ करोड ७० लाख जनाबाट बढाएर ९३ करोड १० लाखमा पुर्याउने योजना पेश गरेका थिए । ट्विटरमा मस्कका १० करोड भन्दा धेरै फलोअर छन् । तर अहिले आएर उनले ट्विटर अन्य एपजत्तिको आकर्षक नभएको भन्दै यसमाथि हथौडा चलाउने काम गरिरहेका छन् । 

प्रमाण बिना नै उनले कम्पनीमा बोट वा स्पाम एकाउन्ट धेरै रहेको र यसलाई विषाक्त वा झुठा कन्टेन्ट प्रवाह गर्न स्वचालित गर्न सकिने दाबी गरिरहेका छन् । कम्पनीले यस्ता खाता ५ प्रतिशतभन्दा कम भएको बताइरहँदा मस्कको दाबी २० प्रतिशतभन्दा धेरैको छ । मस्कले नक्कली खाताबारे बकबक गरिरहँदा ट्विटरले आफ्नो विश्वास गुमाइरहेको छ । कम्पनीभित्रै पनि कर्मचारीहरुको मनोबल ध्वस्त भएको छ । कर्मचारीको मनोबलसँगै कम्पनी पनि ध्वस्त भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।