साउन १५, काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ४८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद नाफा साढे २३ गुणा बढी भएको हो । अघिल्लो आवको यस अवधिसम्म कम्पनीको खुद नाफा साढे १० लाख रूपैयाँ रहेको थियो ।
गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी १५ दशमलव १९ प्रतिशत बढेको छ भने वित्तीय खर्च ४ दशमलव २५ प्रतिशत घटेको छ । जसका कारण कम्पनीको सञ्चालनबाट भएको आम्दानी १५ प्रतिशत बढेको छ । कम्पनीले अघिल्लो आवमा १९ करोड ३५ लाख रूपैयाँभन्दा बढीको विद्युत् विक्री गरेकोमा गत आवमा २२ करोड २९ लाख रूपैयाँभन्दा बढीको विद्युत् विक्री गरेको हो ।
वित्तीय खर्च अघिल्लो वर्ष १२ करोड २४ लाख रूपैयाँभन्दा बढी भएकोमा गत आवमा ११ करोड ७२ लाख रूपैयाँभन्दा बढी भएको हो । आम्दानी बढ्दा र खर्च कम हुँदा कम्पनीको सञ्चालनबाट भएको आम्दानी अघिल्लो वर्ष १२ करोड ३५ लाख रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष १४ करोड २० लाख रूपैयाँभन्दा बढी भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम भने २३ करोड ८५ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेकाे छ ।
कम्पनीले अघिल्लो आवभन्दा गत आवमा ८ दशमलव १७ प्रतिशत बढी १ अर्ब २७ करोड १६ लाख रूपैयाँ कर्जा सापटी लिएको छ । अघिल्लो आवमा यो रकम १ अर्ब १७ करोड ५५ लाख रूपैयाँ रहेको थियो । गत आवकाे चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३ रूपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ ७० रूपैयाँ १८ पैसा रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।