साउन १८, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा २७ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा रू. ९ करोड ६५ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. ७ करोड ३ लाखमा झरेको हो ।
गत आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घट्न पुगेको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ६५ प्रतिशत रहेकोमा गत आवमा बढेर रू. ४ दशलमव ९४ प्रतिशत पुगेको छ । त्यसैगरी कम्पनीको सञ्चालन नाफा अघिल्लो आवको तुलनामा गत आवमा २६ प्रतिशत घटेको छ । त्यसैले नाफा घट्न पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ३६ करोड ७१ लाख रहेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १४ करोड १३ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ३ अर्ब १८ करोड सापटी एवं रू. १ अर्ब ६२ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब ९६ करोडभन्दा बढी कर्जा लगानी गरेको हो । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ११ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो आवमा कम्पनीले रू. ३० करोड ५९ लाख खुद ब्याज आम्दानी गरेकोमा गत आवमा बढेर रू. ३४ करोड ६ लाख पुगेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव १६ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ४३ दशमलव ०६ गुणा, तरलता अनुपात ७ दशमलव ९१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ५१ रहेको छ । हालसम्ममा कम्पनीले ५३ जिल्लामा १५० शाखा कार्यलयहरूबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।