भदौ २८, चौतारा । पाँचपोखरी थाङपाल गाउँपालिका–४ रैथानेको लुत्ती तामाङले अचेल आफ्नो बच्चालाई लिटो र जाउलो खुवाउन थालेकी छन् । दोस्रो सन्तानलाई लिटो र जाउलो खुवाउन थालेकी तामाङले यसअघि चाउचाउ र बिस्कुटलाई पोसिलो खानाका रूपमा लिएकी थिइन् ।
बजारका जंकफुडको तुलनामा आफ्नै घरमा बन्ने खाना बालबालिकाको लागि बढी पोसिलो हुने जानकारी पाएपछि उनले दोस्रो सन्तानलाई लिटो, जाउलोजस्ता खाना खुवाउन थालेकी छिन् ।
सुआहारा कार्यक्रममार्फत बालबालिकालाई आवश्यक पोषणको विषयमा जानकारी पाएपछि उनले बच्चालाई खुवाउने खानामा चार प्रकारका तत्त्व मिसिएको छ कि छैन भन्नेमा पनि सचेत छिन् । उनले बच्चाको खानामा ‘हरेक बार खाना चार’ भन्ने सिद्धान्तलाई अंगिकार गर्दै अन्न, गेडागुडी, हरियो सागपात र पहेँलो फलफूल तथा पशुजन्य उत्पादन मिलाउने गरेकी छन् ।
यूएसएआईडीको सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमले बालबालिकाको पोषणको विषयमा जानकारी गराएपछि उनले आफ्ना सन्तानको खानामा ध्यान दिन थालेको बताउँछिन् । ‘टुकी संघ सुनकोशी’ र सुआहारा कार्यक्रमका सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयं सेविकाले जन्मेको दुई वर्षसम्म ८० प्रतिशत मस्तिष्कको विकास हुने भएकाले यो अवधिमा बालबालिकाको खानामा ध्यान पुर्याउनुपर्ने जानकारी दिएपछि उनले सबै खानेकुरा खुवाउन थालेकी हुन् ।
तामाङ मात्र हैन, जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका महिलाले आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिन थालेका छन् । हतारमा जुन अवस्थामा भेटिन्छ त्यही अवस्थामा खाना बनाउने र खुवाउने गर्दै आएकी इन्द्रावती गाउँपालिका–१२ भिमटारकी माया दनुवार अचेल साबुनपानीले हात नधोई खानेकुरा छुन्निन् ।
चौतारा साँगाचोकगढी नगरपालिका–७ इर्खकी सम्झना तामाङ छ महिना नपुगेको बच्चालाई दूध मात्रै खुवाउने गर्छिन् । मेलम्ची नगरपालिका–९ की गमला गिरी सुआहाराको पहलमा नियमित बैठक बस्न थालेपछि पारिवारिक स्वास्थ्य र सरसफाइमा सचेत भएकी छन् । जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा सुआहाराले पोषण, सरसफाइ, पारिवारिक स्वास्थ्यलगायत क्षेत्रमा काम गरिरहेको सुआहारा जिल्ला संयोजक मनोज मिश्रले जानकारी दिए । -रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।