रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेसँगै सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ । केरुङ क्षेत्रमा कोभिड संक्रमण बढेको जनाउँदै चिनियाँ पक्षले सीमानाका बन्द गराएको थियो । आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको चहलपहल बढेको छ ।
भदौ ३० बाट आयात पुनः सुरु भएपछि तीन दिनमा ५६ चिनियाँ मालवाहक कन्टेनरले रसुवागढीस्थित नेपाली भू-भागमा मालसामान ल्याएको सीमा सुरक्षाकर्मीले बताएका छन् । गत बिहीबार १४, शुक्रबार तथा शनिबार २१-२१ चिनियाँ कन्टेनरले रसुवागढीमा मालसामान ल्याएको बताइएको छ ।
सामान आयातमा विगतको अभिलेख हेर्दा दैनिक १४ कन्टेनर मात्र पठाइरहेको चिनियाँ भन्सारले पछिल्लो समय २१ कन्टनेरबाट सामान उपलब्ध गराएको जनाइएको छ । यसबाट उपभोक्ताको माग आपूर्तिमा सहज भएको तथा पालो कुरेर बेरोजगार बसिरहेका यहाँका सयौँ सवारी चालकलाई थप रोजगारी मिलेको छ ।
बडादशैँलाई केन्द्रित गरी नेपाली व्यवसायीले आयात गरेको सामग्रीमध्ये दुई कन्टेनर दाँतेओखर र ४६ कन्टेनर तयारी पोशाक रहेको प्रहरीले जनाएको छ । यस्तै अन्य सात कन्टेनरमा भने नेपालमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका सामग्री रहेको भन्सार अधिकारीले जनाएका छन् ।
नेपाल भित्रिएका सामान ढुवानीका लागि सयौँ कन्टेनर रसुवागढी तथा टिमुरे क्षेत्र पुगिसकेको र चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनरलाई वजन पुग्ने सीमा प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनबाट आयात भएका सामग्री पासाङल्हामु मार्ग अवरुद्ध भएपछि सबै कन्टेनरलाई स्याफ्रु, मैलुङतर्फबाट काठमाडौँ पठाइएको बताए । भारी वर्षाका कारण मैलुङ खण्डको जीर्ण राजमार्गलाई गल्छी, त्रिशूली, रसुवागढी सडक सुधार आयोजनाको रेखदेख गरिरहेको छ । अर्कोतर्फ समस्या पर्दा २१६ मेगावाट अपरत्रिशूली वान जलविद्युत् आयोजनाको समेत सहयोग मिल्ने भएका कारण मालवाहक कन्टेनर डिब्बा मैलुङतर्फबाट काठमाडौँ पठाइएको छ ।
गत साउन २४ गते रातिको वर्षाले क्षतिग्रस्त रसुवाको बनुवा घुम्ती खण्डको पासाङल्हामु मार्ग पनि द्र्त गतिमा पुनः निर्माण भइरहेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । ग्याबियन जाली भर्ने काम ८५ प्रतिशत पूरा भएको प्राविधिकले जानकारी दिएका छन् । सडक सतहमा माटो भर्ने, रोलरले माटो थिच्ने र ढुंगा सोलिङ गर्ने प्रक्रिया अगाडि बढेको बताइएको छ ।
बनुवा घुम्तीको पासाङल्हामु मार्ग बन्द भएपछि उत्तरी रसुवाको विकास निर्माणका कार्य ठप्प हुनुका साथै उपकरण ढुवानी गर्न नपाउँदा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासमेत प्रभावित भएको बताइएको छ । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।