पाकिस्तानमा बाढी : १५ सयभन्दा बढीको मृत्यु, साढे ३ करोडजति विस्थापित, ३० अर्ब डलरभन्दा बढी क्षति

Share News

इस्लामावाद (पाकिस्तान) । पाकिस्तानमा भारी वर्षा र बाढी शुरु भएको २ महीना बितिसकेको छ ।

निरन्तरको वर्षा र बाढीका कारण ३ करोड ३० लाखभन्दा धेरै मानिसहरु घर तथा बस्तीबाट विस्थापित भएका छन् । बाढीका कारण देशभरमा ज्यान गुमाउनेको संख्या पनि १ हजार ५०० नाघेको छ । बाढीका कारण ३० अर्ब डलरभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ । 

बाढीका कारण सरकारले गएको महीनाको अन्त्यतिर नै राष्ट्रिय आपतकालको घोषणा गरेको थियो । पाकिस्तानको पछिल्लो अवस्थालाई संयुक्त राष्ट्र संघले विश्वको लागि चेतावनीको घन्टी भनेको छ । यसैलाई ‘वेक–अप कल’ ठानेर जलवायु परिवर्तन नियन्त्रणमा आफ्नो प्रयास बढाउन भनेको छ । विश्व मौसम संगठन (डब्ल्यूएमओ)ले पाकिस्तानको विनाशकारी बाढीलाई मानवका कारण सृजित जलवायु संकटको असर बताएको छ । 

सप्ताहन्तमा डब्ल्यूएमओले सार्वजनिक गरेको विश्लेषण अनुसार पाकिस्तानमा चरम वर्षा ५० देखि ७५ प्रतिशतले बढेको छ । मानवीय गतिविधिका कारण उत्पन्न जलवायु परिवर्तनले गर्दा यस्तो भएको विश्लेषणको ठहर छ । अगष्टमा पाकिस्तानभर वर्षा औसतभन्दा २४३ प्रतिशत धेरै रहेको पाकिस्तानको मौसम विभागले बताएको छ । बलोचिस्तानमा मात्रै वर्षा औसतभन्दा ५९० प्रतिशत बढी थियो ।

सिन्धमा अवस्था झनै खराब थियो । अगष्टभर त्यहाँ औसतभन्दा ७२६ प्रतिशत धेरै वर्षा भएको आफ्नो मासिक प्रतिवेदनमा पाकिस्तानको मौसम विभागले बताएको छ । वैज्ञानिकहरू आधुनिक जलवायु पद्दतिबाट इन्दुस नदीको प्रवाह क्षेत्रमा मनसुनी वर्षा सिमुलेट गर्न असमर्थ भएका छन् । 

यसअघिको कीर्तिमानी नै भंग गर्ने गरी भइरहेको वर्षाले पाकिस्तानजस्तो गरीब देशलाई मात्रै नभएर जुनसुकै देशलाई तहसनहस बनाउन सक्ने बीबीसीसँगको कुराकानीमा एक जना जलवायु वैज्ञानिकले भनेका थिए । बाढीका कारण देशभरका झन्डै आधा बाली सखाप भएका छन् । यस्तोमा खाद्य अभाव/संकट निश्चितप्रायः छ । 

विश्वको हरितगृह उत्सर्जनमा पाकिस्तानको योगदान १ प्रतिशतभन्दा कम छ । तर, भौगोलिक अवस्थितिका कारण जलवायु परिवर्तनप्रति यो अति नै संवेदनशील छ । अहिले पाकिस्तानको एकतिहाइभन्दा धेरै हिस्सा डुबानमा छ । पाकिस्तान दुई फरक मौसम प्रणालीको चपेटामा पर्ने स्थानमा छ । एउटाका कारण तापक्रम उच्च हुन्छ, सुख्खा निम्तन्छ अनि तातो हावाको लहर पनि चल्छ अनि अर्कोका कारण मौसमी वर्षा हुन्छ । 

जलवायु परिवर्तनका कारण मनसुन झनै तीव्र बनेको छ । विश्वव्यापी जलवायु परिवर्तनले गर्दा वायु र नदीमा तपाक्रम बढेर वाष्पीकरण बढेको छ । तातो हावाका कारण आद्ररता बढेर मनसुनी वर्षा झनै गहन भएको छ । चर्को गर्मीका कारण उत्तरमा रहेका हिमालहरुबाट हिउँ पग्लने क्रम तीव्र बनेको छ । जिलगिट–बाल्तिस्तान र खैबर पख्तुन्खा क्षेत्रमा ३ हजार भन्दा धेरै ताल तलाउ बनेका छन् । 

यीमध्ये करीब ३३ ओटा ताल अचानक विष्फोट हुने जोखिममा रहेको बताइएको छ । यसका कारण ७० लाख मानिसको ज्यान धरापमा छ । शीघ्र चेतावनी प्रणाली र सुरक्षात्मक पूर्वाधार जडान गरेर ताल अचानक विष्फोट हुने जोखिम कम गर्न सरकार र संयुक्त राष्ट्रसंघले प्रयास गरिरहेको छ । पछिल्लो समय पाकिस्तानमा बाढीको स्तर अति नै उच्च रहेको र वर्षा पनि भयानक भएको जलवायु परिवर्तनको प्रभाव अध्येता वैज्ञानिक फहाद सइदले भनेका छन् ।

ठूला अर्थतन्त्रहरूले उत्सर्जन गरेको हरितगृह ग्यास उत्सर्जनको मारमा पाकिस्तानजस्ता न्यून कार्बन उत्सर्जक देशहरू परेका छन् । माटोको घरमा बस्ने अनि जलवायु परिवर्तनमा खासै हात नै नरहेका मानिसहरू अहिले जलवायु परिवर्तनको चपेटामा परेको सइदले बताएका छन् । अहिले पाकिस्तानमा भारी वर्षा नै नभएका सिन्ध र बलोचिस्तानजस्ता क्षेत्र बाढीको कारण डुबेका छन् । एजेन्सीहरूको सहयोगमा 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।