काठमाडौं । यस वर्ष दशैं मनाउन उपत्यकाबाट बाहिरिने यात्रुको संख्या करीब २२ लाख पुग्ने अनुमान गरिएको छ । दशैं र तिहारलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएकाले पनि निर्वाचनलाई लक्षित गर्दै अघिल्ला वर्षभन्दा यसवर्ष करीब ५ लाख बढी यात्रु दशैंअघि उपत्यकाबाट बाहिरिन सक्ने अनुमान यातायात व्यवसायीले गरेका छन् ।
अघिल्ला वर्षहरूमा दशैंका बेला काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या १७ लाख हाराहारी हुने गरेको थियो । कोरोना महामारीको प्रभावका कारण गतवर्षको दशैंमा करीब १० लाख यात्रु बाहिरिएका थिए । असोज १ देखि हालसम्म करीब २ लाख यात्रु बाहिरिइसकेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।
उनका अनुसार घटस्थापनादेखि अधिकांश स्कूल, कलेजहरू बिदा हुने भएकाले त्यसपछि यात्रुको चाप ह्वात्तै बढ्ने र फूलपाती र अष्टमीको दिनमा सबैभन्दा बढी यात्रु बाहिरिने गर्छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दशैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चाप बिस्तारै बढ्दै गएको छ । ‘यतिखेर नागढुंगा, कोटेश्वर, फर्पिङलगायत नाकाबाट दैनिक ५० हजारभन्दा बढी यात्रु बाहिरिइरहेका छन्,’ उनले भने । यात्रुको सुरक्षा र सहजीकरणका लागि उपत्यकाका १४ स्थानमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष राखेको छ ।
घटस्थापनादेखि अधिकांश स्कूल, कलेजहरू बिदा हुने भएकाले त्यसपछि यात्रुको चाप ह्वात्तै बढ्ने र फूलपाती र अष्टमीको दिनमा सबैभन्दा बढी यात्रु बाहिरिने गर्छन्
विभिन्न स्थानमा सडक बिग्रिएका कारण उपत्यका भित्रिने र बाहिरिने सवारी र यात्रुलाई समस्या भइरहेको महासंघले बताएको छ । ‘बुटवल–नारायणगढ सडक खण्डको १ सय २१ किलोमीटर यात्रा गर्न १० घण्टासम्म लाग्ने गरेको छ । बाटो राम्रो हुँदा बढीमा ४ घण्टामा पुगिने ठाउँ हो, यो,’ उपाध्यक्ष स्वाँरले भने, ‘सडक बिग्रेका कारण समयमै गाडी काठमाडौं नआउँदा अग्रिम टिकट बुकिङ गरेका यात्रुले सास्ती खेप्नुपरेको छ ।’ आँबुखैरेनीदेखि कोत्रेसम्मको बाटोको अवस्था पनि बिग्रेका कारण ६३ किलोमीटर यात्रा गर्न ५ घण्टाभन्दा बढी समय लाग्ने गरेको उनले बताए ।
सार्वजनिक यातायातको रुट परमिट खुला
दशैंतिहार मनाउन उपत्यका छाडेर गाउँघरतिर फर्किने यात्रुलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायातको रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म रुट परमिट खुला गरिएको हो ।
रुट परमिट खुला गरिएसँगै गाडीहरू जुनसुकै रुटमा पनि निर्बाध रूपमा चल्न पाउनेछन् । यातायात व्यवस्था विभागले असोज १५ देखि २२ गते सम्मका लागि नारायणगढदेखि काठमाडौंसम्मको रुटमा ठूला मालवाहक सवारीसाधनमाथि रोक लगाउने निर्णय गरेको छ । मालवाहक सवारीसाधनका कारण सडकमा गुड्ने यात्रुवाहक बसलाई समस्या पर्ने भएकाले यस्तो निर्णय गरिएको विभागले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।