काठमाडौं। अरुभन्दा सुन्दर र राम्रो देखिने चाहनाले अहिले शल्यक्रिया गरेर आफ्नो उचाइ बढाउनेको संख्या दिनदिनै बढीरहेको छ ।
यो क्रेज गूगल, अमेजन, माइक्रोसफ्ट र मेटा जस्ता प्राविधिक कम्पनीका सफ्टवेयर इन्जिनियरहरूमा बढी देखिएको पाइएको छ। अपरेशनबाट खुट्टाको लम्बाइ ३ देखि ६ इन्चसम्म बढाउन सकिने भएपछि यस्तो शल्यक्रिया गराउनेको संख्या बढीरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
शल्यक्रिया गरी उचाइ बढाउने संस्था लिम्बोप्लास्टको संस्थापक केभीन देविप्रसाद भन्छन्- 'मसँग यति धेरै प्राविधिक बिरामी छन् कि, म टेक कम्पनी नै खोल्न सक्छु । अहिले मसँग प्राविधिक कम्पनी खोल्नका लागि पर्याप्त प्राविधिक बिरामीहरू छन् । हाल २० जना बिरामी शल्यक्रियाका लागि लाइनमा छन् । माइक्रोसफ्टका अधिकांश कर्मचारीहरू अपरेशनको लागि मसँग आएका थिए । गूगल, अमेजन र फेसबूकका धेरै सफ्टवेयर इन्जिनियरहरूले पनि यो काम गरेका छन् । धेरैजसो शल्यक्रिया कोरोना अवधिमा भएको थियो,' उनले भने ।
यस्तो छ उचाइ बढाउने तरिका
सबैभन्दा पहिले, डाक्टरले बिरामीको तिघ्राको हड्डी भाँच्छन् । त्यसपछि त्यसमा धातुको काँटीहरूले यसलाई मिलाउन सकिन्छ । दुईतर्फ बनाएको हड्डीलाई धातुका नटहरू लगाएर म्याग्नेटिक रिमोट कन्ट्रोलद्वारा तीन महीना लगाएर विस्तारै लम्बाइन्छ। यसरी जोडिएको हड्डी बलियो हुन भने महिनौं लाग्छ । शल्यक्रिया गरेका एक सफ्टवेयर इन्जिनियरले शल्यक्रियापछि तीन महिना घरमै बसेको बताए ।
शल्यक्रिया गर्दा हड्डी कमजोर हुन्छ
शल्यचिकित्सकहरूले कुनै पनि खेलाडीलाई उचाइ बढाउन यो शल्यक्रिया गर्न सिफारिस नगर्ने बताउँछन् । यसले लम्बाइ बढाउँछ, तर हड्डी कमजोर हुने उनिहरुको भनाइ छ। शल्यक्रियापछि मानिस सामान्य अवस्थामा आउने भएकाले कसैले पत्तै नपाउने तथा शल्यक्रिया गराएका मानिसहरूले पनि सामान्यतया कसैलाई यो कुरा उल्लेख गर्दैनन्।
३ देखि ६ इन्चसम्म बढ्छ उचाइ
यो शल्यक्रियाबाट ३ देखि ६ इन्चसम्म उचाइ बढाउन सकिने सर्जनहरू बताउँछन् । यो शल्यक्रियाबाट लम्बाइ बढाउन करिब ६० लाख रुपैयाँ खर्च हुने गरेको छ । लस भेगासमा बस्ने र काम गर्ने ठूला प्राविधिक कम्पनीका कर्मचारीहरूका लागि यति पैसा खर्च गर्न गाह्रो छैन। त्यसैले धेरैजसो प्राविधिक कर्मचारीहरूले यो कार्य गरिरहेका छन् । तर, सामान्य नागरिकका लागि भने यस्तो शल्यक्रिया निकै महँगो हो ।
महिलामा भन्दा पुरूषमा क्रेज बढी छ
यस्तो शल्यक्रिया धेरैजसो पुरूषहरूले गर्ने गरेको केभिन बताउँछन् । 'महिलाको संख्या निकै कम छ । अपरेशन महँगो छ । त्यसैले धनीहरूले मात्र यो अपरेशन गर्दैछन् । तर, तिनीहरू विभिन्न पेशाका छन् । यस्ता व्यक्तिमा सफ्टवेयर इन्जिनियरबाहेक केही कम्पनीका सीईओ, चलचित्रका कलाकार र वित्त व्यवसायी पनि पर्छन्,' उनले भने ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।