साढे १५ करोड लगानीमा २५ ठाउँमा चार्जिङ स्टेशन राख्दै सुन्दर अटो

Share News

काठमाडौं । सुन्दर यातायातको भगिनी संस्था सुन्दर अटो प्रालिले विद्युतीय सवारीसाधन चार्जिङका लागि साढे १५ करोड रुपैयाँ लगानीमा देशभरका २५ ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । ती चार्जिङ स्टेशनबाट २४ सै घण्टा सेवा दिने तयारी रहेको कम्पनी अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । 

कम्पनीका अनुसार आगामी ३ महीनाभित्र सबै चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । कम्पनीले उपत्यकामा काठमाडौंको धुम्बाराही, सीतापाइला र भक्तपुरको राधेराधे गरी तीन ठाउँमा चार्जिङ स्टेशन राख्दै छ ।

त्यसैगरी धादिङको गल्छी, चितवनको भरतपुर, कास्कीको पोखरा, रूपन्देहीको बुटवल, कपिलवस्तुको भैरहवा, तनहुँ, दाङ, बाँकेको नेपालगञ्ज, महेन्द्रनगर, काभ्रे, ढल्केवर, हेटौंडा, झापालगायत २५ ठाउँमा चार्जिङ स्टेशन राख्न धमाधम काम भइरहेको कम्पनीको भनाइ छ । धुम्बाराही, बुटवल, चितवनको रमाइलो डाँडा र ढल्केवरको चार्जिङ स्टेशन सञ्चालनमा आइसकेको छ ।

सबै स्थानमा ३० किलोवाट, ६० किलोवाट, १०० किलोवाट र १९० किलोवाटका चार्जिङ पोर्ट राखिने अध्यक्ष थापाले आर्थिक अभियानलाई बताए । उनका अनुसार साना, ठूला र दुईपांग्रे सबै खाले सवारीसाधन चार्ज गर्न मिल्ने गरी मल्टिपल चार्जिङ स्टेशन स्थापना गर्न लागिएको छ । साना गाडीका लागि ३० किलोवाट र ६० किलोवाटको पोर्टले काम गर्छ । ठूला गाडीका लागि १०० र १९० किलोवाटका चार्जिङ पोर्ट आवश्यक हुने थापाले जानकारी दिए । चार्जिङ पोर्ट आयात गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयले समन्वय र सहजीकरण गरिदिएको थापाले जानकारी दिए ।

सुन्दर अटोले करीब ७ करोड ७८ लाख रुपैयाँको लगानीमा यूरोपेली र चिनियाँ स्ट्यान्डर्डका चार्जिङ पोर्ट किनेर नेपाल ल्याइसकेको छ । 

भौतिक संरचना निर्माणका लागि करीब ६ करोड २५ लाख रुपैयाँ खर्च हुने कम्पनीको भनाइ छ । बाँकी कामका लागि १ करोड ४९ लाख रुपैयाँ गरी कुल लगानी १५ करोड ५२ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको थापाले बताए ।

विद्युतीय सवारीसाधनको प्रयोगले वातावरण संरक्षणमा टेवा पुग्नुका साथै पेट्रोलियम पदार्थको तुलनामा इन्धन खर्च सस्तो पर्ने हुँदा पछिल्लो समय यसमा ग्राहकको आकर्षण बढेको देखिएको छ । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको आयात पनि क्रमशस् बढिरहेको थापाले जानकारी दिए । 

थापाका अनुसार एउटा विद्युतीय कारले ६ सय रुपैयाँ खर्च गरेर चार्ज गर्दा २ सय ५० किलोमीटर यात्रा तय गर्न सक्छ । सोही दूरीमा पेट्रोलियम इन्धन प्रयोग गर्दा करीब २ हजार ५०० रुपैयाँ खर्च हुन जान्छ । विद्युतीय सवारीसाधन प्रयोग गर्दा हरेक २ सय ५० किलोमीटर यात्रा तय गर्दा १ हजार ९०० रुपैयाँ बचत गर्न सकिने थापाको दाबी छ ।

स्थापना गर्न लागिएका चार्जिङ स्टेशनमा रेस्टरुम, कफी सप, विभिन्न बैंकका एटीएम मेशिन, प्राथमिक उपचारका लागि आवश्यक पर्ने औषधि र कोल्ड स्टोरको समेत सुविधा हुनेछ । सुन्दर यातायात प्रालिले नेपालमा विद्युतीय सवारीसाधन आयात गर्ने र तिनका पार्टपुर्जा आयात गरी नेपालमै एसेम्बल गर्ने कामसमेत गर्दै आएको छ ।

यस कम्पनीले गत वैशाखदेखि पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकल र स्कूटरलाई विद्युतीयमा रूपान्तरण गर्ने कामसमेत गरिरहेको छ । पेट्रोलले चल्ने मोटरसाइकल र स्कूटरलाई ३ घण्टामै विद्युतीय बनाउन सकिने भएकाले यसमा उपभोक्ताको आकर्षण बढ्दै गएको कम्पनीको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।