काठमाडौं । भारतबाट दैनिक १ लाख २० हजार लिटर दूध आयात गर्दा पनि आन्तरिक माग धान्न अपुग भएको छ ।
बजारमा दूध अभाव भएको निष्कर्षसहित सरकारले दैनिक १ लाख २० हजार लिटर आयात गर्न अनुमति दिएको थियो । अनुमति पाएपछि दुग्ध विकास संस्थान (डीडीसी), सुजल डेरी र डेरी उद्योग संघले भारतबाट दूध आयात गरिरहेका छन् । भारतबाट आयात गर्दा पनि अझै दैनिक करीब १ लाख ८० हजार लिटर दूध अपुग रहेको बताइएको छ ।
‘अहिलेको मागअनुसार औपचारिक क्षेत्रबाट मात्रै बजारमा दैनिक १० लाख ५० हजार लिटर दूध आपूर्ति हुनुपर्छ । तर, आन्तरिक उत्पादनबाट दैनिक आपूर्ति ७ लाख ५० हजार लिटर मात्रै छ । भारतबाट आयात भइरहेको १ लाख २० हजार लिटर जोड्दा पनि दैनिक १ लाख ८० हजार लिटर अपुग छ,’ राष्ट्रिय दुग्ध विकास बोर्डका प्राविधिक निर्देशक डा बालक चौधरीले आर्थिक अभियानसँग भने । कात्तिकबाट दूध उत्पादन बढ्दै जाने र उपभोग घट्ने भएकाले विस्तारै माग धान्न सहज हुने हुँदा हाललाई थप आयात गर्न दिने योजना नभएको उनले सुनाए ।
सरकारले दूधमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेको डेढ वर्षभित्रै दूध अभाव हुन गई भारतबाट आयात गर्नुपर्ने अवस्था आएको हो । २०७७ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले धूलो दूध र बटरमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेका थिए । अहिले त्यही धूलो दूध र बटरको अभाव भएपछि भारतको पट्ना डेरीबाट झोल दूध आयात गर्नु परेको हो ।
सरकारले आयात खुला गर्नाले बजारमा कच्चा दूधको माग धान्न केही सहज भए पनि धूलो र बटर दूधको माग धान्न अझै पनि समस्या भइरहेको नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले बताए । त्यसै पनि नेपालभित्र दूध उत्पादन कम छ । अहिले आयात भइरहेको दूधले केही सहज भए पनि आगामी वर्षका लागि चाहिने धूलो र बटर उत्पादन गर्न नसकिएको दाहाल बताउँछन् ।
‘हामीलाई कति दूध चाहिन्छ र कति अपुग भएको हो भन्ने थाहा छ । अर्को वर्ष पनि अपुग हुन्छ । त्यसैले सरकारले अब सबै सरोकारवाला निकायलाई सँगै राखेर निजीक्षेत्रलाई भन्दा पनि सरकारमातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन जस्ता संस्थालाई झोल दूध मात्र होइन धूलो र बटर दूध नै आयात गर्न दिनुपर्छ । किनभने हामीलाई अभाव भएको धूलो र बटर नै हो,’ उनले भने ।
अहिले सरकारले दैनिक १ लाख २० हजार लिटर दूध आयात खुला गरे पनि आयातको जिम्मा पाएका निकायले दैनिकजसो दूध ल्याउन सकेका छैनन् । त्यसले गर्दा पनि अभाव कम हुन नसकेको बताइन्छ । दूध आयात खुला गर्ने सरकारी निर्णय किसानको हितविपरीत भएको भन्दै कतिपय संघसंस्थाले विरोध गरेका छन् । सरकारले यही असोज पहिलो साता दूध आयात खुला गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।