डिजेल र पेट्रोल गाडीको आयात ८१ % ले घट्यो, विद्युतीय गाडीको आयात भने ५६ % ले बढ्यो 

Share News

वीरगञ्ज । वीरगञ्ज नाकाबाट डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको आयात घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो २ महीनामा त्यस्ता साधनको आयात उल्लेख्य मात्रामा घटेको भन्सारको तथ्यांकले देखाएको छ । सोही अवधिमा विद्युतीय सवारीसाधनको आयात भने बढेको वीरगञ्ज भन्सारको अभिलेख छ । 

जीप कार भ्यानको आयात ८१ प्रतिशतले घटेको वीरगञ्ज भन्सारको तथ्यांक छ । पोहोर साउन र भदौमा १ हजार ६७३ ओटा जीप कार भ्यान भित्रिएको यो नाकाबाट यो वर्षको सोही अवधिमा ३१० ओटामात्र आएको देखिन्छ । 

विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न भन्दै सरकारले लिएको आयात नियन्त्रणको नीति र बैंकमा लगानीयोग्य रकमको अभावमा लगानी खुम्चिएपछि गाडीको आयात घटेको हो । सवारीसाधन भन्सारले उठाउने राजस्वको मुख्य स्रोत हो । 

सवारीसाधनको आयात खस्किएपछि भन्सारको राजस्व पनि घटेको छ । भन्सारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको छैन । 

विद्युतीय जीप कार र भ्यानको आयात भने ५६ प्रतिशतले बढेको तथ्यांक छ । गत आवको पहिलो २ महीनामा ४५ ओटा विद्युतीय सवारीसाधन भित्रिएकोमा यो वर्ष सोही अवधिमा ७० पुगेको भन्सारले बताएको छ ।

त्यस्तै विद्युतीय मोटरसाइकलको आयातमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ । विद्युतीय मोटरसाइकलको आयात १९३ प्रतिशतले बढेको छ । विद्युतीय मोटरसाइकलको आयात १२३ बाट ३६१ पुगेको छ । 

सरकारले विद्युतीय सवारीसाधनको आयातलाई प्रोत्साहन दिने नीति लिएको छ । अन्य सवारीसाधनको तुलनामा कम भन्सार राजस्व र न्यून दर्ता शुल्कका कारण यस्ता सवारीसाधनमा आकर्षण बढेको हो । 

सरकारले विद्युत् खपत बढाउन यस्ता सवारीसाधनको आयातलाई प्रोत्साहन गरे पनि अहिलेको प्रोत्साहन पर्याप्त नभएको सरोकारवाला बताउँछन् । 

मोटरसाइकलको आयातमा ६१ प्रतिशतले कमी आएको भन्सारले बताएको छ । अघिल्लो वर्षको २ महीनामा १२ हजार ६३३ ओटा मोटरसाइकल आयात भएको थियो । यो वर्षको साउन र भदौमा ४ हजार ९६८ ओटा मोटरसाइकल मात्र भित्रिएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बताए । 

अनएसेम्बल्ड मोटरसाइकलको आयात भने बढेको देखिन्छ । यस्तो आयात १६० प्रतिशतले उकालो लागेको छ । गत आवको पहिलो २ महीनामा यो नाकाबाट ३ हजार १९६ ओटा यस्ता मोटरसाइकल भित्रिएकोमा यो वर्ष ८ हजार ३०७ ओटा आएका छन् । 

गाडीको आयात घटेसँगै तिनमा लाग्ने पार्टपुर्जाको आयात पनि खस्किएको छ । यस्तो आयात २७ प्रतिशतले घटेको भन्सारको तथ्यांक छ । पिकअप, बस र ट्रकका चेसिस, ट्रक, मिनी ट्रक, बस, ट्याक्टर, डम्पर, एम्बुलेन्स र शववाहनको आयातसमेत घटेको भन्सारले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।