विराटनगर । उद्योगी तथा समाजसेवी दिनबन्धु गोयललाई विराटनगरमा पूर्वराष्ट्रपति रामवरण यादवले विराटनगरवासीको तर्फबाट नागरिक अभिनन्दन गरेका छन ।
पूर्वराष्ट्रपति यादवले विराटनगरमा आयोजित समारोहमा गोयललाई अभिनन्दन गरेपछि प्रदेश १ का २८२ विभिन्न संघसंस्थाले गोयललाई सम्मान तथा अभिनन्दन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले कृष्णप्रसाद कोइरालाले विराटनगरमा शुरू गरेको सामाजिक न्याय र जनअधिकारको प्राप्तीको संघर्षदेखि दिनबन्धु गोयलसम्म आइपुग्दा समाजलाई दिनेहरू नै सधैं अभिनन्दित हुने गरेको चर्चा गरे ।
उद्योगीको पृष्ठभूमि भएपनि गोयलले सामाजका लागि दिएको योगदान निकै सह्रनिय भएको भन्दै यादवले प्रशंसा गरे ।
पूर्वीय सभ्यतामा एकले अर्कालाई सहयोग गर्ने सहयोगि भावनाको विकास भएकाले अहिले पनि समाजमा रहेका निमूखाहरूलाई सक्नेले पुर्याउने योगदानले लाखौंको जीवन परिवर्तन गर्न सक्ने भएकाले समाज परिवर्तनका लागि समाज सेवा अपरिहार्य भएको यादवले उल्लेख गरे ।
सामाजिक व्यक्तित्व गोयललाई सम्मान गर्न पाउँदा आफूलाई पनि खुसी लागेको यादवले बताए ।
गोयलले विभिन्न ७७ वटा संघसंस्थालाई प्रत्यक्ष सहयोग गरेका छन भने ४५० विद्यार्थीलाई छात्राबृत्ति प्रदान गरेका छन ।
झापाको भद्रपुरमा २००५ सालमा जन्मिएका गोयलको परिवार मध्यमस्तरको किराना पसलबाट व्यवसायमा आएको हो । अहिले देशकै ठूलो सिमेन्ट उद्योग मारुती सिमेन्टको संचालक मध्येका एक हुन गोयल ।
साबुन उद्योग, विस्कुट, मैनवत्ती उद्योग हुँदै उनले टेक्सटाइल, फलामे डन्डी, गार्मेन्ट, सिमेन्ट उद्योग लगायतका ठूला कारखाना समेत संचालन गरेका गोयल २० वर्षदेखि समाजसेवामा सक्रिय छन ।
गोयलका माइला दाजु ओमप्रकाशको निधन २० वर्ष अघि भएपछि निकै ठूलो पीडामा परेका उनले समाजसेवालाई निरन्तरता दिए । यति सम्मकी उनी आफैंले पीडितको घरसम्म जाने र सहयोग दिएर आउने गरेका छन ।
कोही आफ्नो घरमा सहयोगको याचना लिएर आयो भने उनले खाली हात कसैलाई पठाउदैनन् ।
विज्ञान विषयमा स्नातकसम्मको शिक्षा हासिल गरेपनि उनको डाक्टर बन्ने सपना भने पूरा भएन । अहिले पनि गोयल कुनै गरीब तर जेहन्दार विद्यार्थीले गरिबीको कारण चिकित्सक बन्न नपाएको सुने भने उनलाई सहयोग गर्न तत्परता देखाउँछन ।
संस्कृतमा एउटा स्लोक छ ‘विद्या ददाति विनयम् विनयात् याति पात्रताम्, पात्रत्वात् धनमाप्नोति धनात् धर्मः ततः सुखम्’ अर्थात विद्याले विनम्र बनाउँछ, विनम्रताले असल पात्र बनाउँछ, असल पात्र भएपछि धन प्राप्त हुन्छ, धनले धर्म गराउँछ र धर्म गरेपछि सुख प्राप्त हुन्छ भने झै यो स्लोक उनको जीवनमा पनि लागू हुन्छ ।
उनलाई भेट्ने आम मानिसहरू अहंकार शून्य मानिसको रुपमा उनलाई बुझ्ने गर्छन । गोयलका दुई छोरा र एक छोरी छन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।