तिहारमा झिलिमिली बत्तीको कारोबार ५० प्रतिशत घट्ने

Share News

काठमाडौं । उज्यालोको चाड भनेर चिनिने तिहारमा यस वर्ष झिलिमिली बत्तीको कारोबार ५० प्रतिशतले घट्ने बताइएको छ । सरकारले यस्तो वस्तुको आयातमा गरेको कडाइ र विश्व अर्थतन्त्रको मन्दीको असरका कारण कारोबार घट्न सक्ने अनुमान गरिएको नेपाल विद्युतीय व्यवसायी महासंघले बताएको हो ।

महासंघका अनुसार हरेक वर्ष तिहार र छठ पर्वमा झिलिमिली बत्तीको कारोबार ४० करोड रुपैयाँ बराबर हुने गर्छ । तर, यस वर्ष कारोबार रकम ५० प्रतिशतले घटेर २० करोड रुपैयाँसम्म हुन सक्ने महासंघको भनाइ छ ।

सामान्य बेलाभन्दा तिहार र छठको समयमा झिलिमिली बत्तीबाहेक अन्य बत्तीहरूको कारोबार पनि १० देखि १५ प्रतिशतसम्मले बढ्ने गर्छ ।

पुराना र बिग्रेका बत्ती फेर्नेदेखि नयाँ घरमा सर्ने प्रवृत्ति पनि यस समयमा बढ्ने हुँदा कारोबार पनि यो बेलामा बढ्ने व्यवसायी बताउँछन् । नेपाल राष्ट्र बैंकले विद्युतीय वस्तुको आयात एलसीमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्दा व्यवसायीले सामान आयात गर्न नसकेको महासंघको गुनासो छ । सानोतिनो मात्रामा अर्डर भएका सामान पनि उत्तरतर्फका दुवै नाका (तातोपानी र रसुवागढी) बन्द हुँदा नेपाल भित्रिन नसकेको महासंघका अध्यक्ष सुदर्शन पौडेलले बताए ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो २ महीनामा ४९ करोड ५० लाख ८८ हजार रुपैयाँ बराबरको विद्युतीय उपकरण नेपाल भित्रिएका भए पनि तिहारलक्षित बल्ब तथा बत्तीको मात्रा अझै यकीन नगरिएको विभागले उल्लेख गरेको छ । नेपालमा विषेश गरी भारत र चीनबाट झिलिमिली बत्ती आयात हुने गरेको छ । त्यसमध्ये ८५ प्रतिशत चीन र बाँकी १५ प्रतिशत बत्ती भारतबाट आयात गरिन्छ । दशैं सकिएलगत्तै सबैले आफ्नो घर, बगैंचा, कार्यालय, व्यापारिक कम्प्लेक्सलगायत स्थानमा विभिन्न रङमा बल्ने बत्ती लगाएर झिलिमिली पार्ने भएकाले तिहारका बेला यस्ता बत्तीको माग अत्यधिक हुने गर्छ ।

अमेरिकी डलरको मूल्य बढेका कारण यस वर्ष यस्ता वस्तुको मूल्यमा पनि वृद्धि भएको महासंघको भनाइ छ । पछिल्लो समय डलरको मूल्य निरन्तर रूपमा उकालो लागेर १ सय ३२ रुपैयाँ हाराहारी पुग्दा विद्युतीय सामग्रीको मूल्य पनि २० प्रतिशतसम्मले बढेको महासंघको भनाइ छ । ‘एकातिर अर्थतन्त्रमा देखिएको उतारचढावका कारण उपभोक्तासँग क्रयशक्ति घटेको छ, अर्कातर्फ बजारमा सामानको मूल्य बढेको छ । यसले गर्दा यस वर्ष तिहारको समयमा बजारमा उपभोक्ताको उपस्थिति उत्साहजनक छैन । त्यसैले यस्ता वस्तुको माग स्वत: घट्ने देखिन्छ,’ पौडेलले भने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।