खराब मौसमसँग फेरि किन जुध्दैछ अष्ट्रेलिया ?

Share News

सिड्नी (अष्ट्रेलिया)। कहिले भयानक जंगली आगो त कहिले भारी वर्षा अष्ट्रेलियाले कयौं मौसमी समस्या र विपद्को सामाना गर्दै आएको छ ।

पछिल्लो समय पूर्वी अष्ट्रेलियामा मुसलधारे वर्षाको मारमा परेको छ । बाढीका कारण सयौं घरहरु डुबेका छन्, अधिकारीहरुले हजारौं मानिसहरुलाई जोखिमयुक्त स्थानबाट बसाईं सरेर जान अनुरोध गरिरहेका छन् ।

दक्षिण पूर्वका तीन राज्यहरु भिक्टोरिया, न्यू साउथ वेल्स र तास्मानियामा बाढीसम्बन्धी आकस्मिक चेतावनी जारी भएका छन् । मार्च र अप्रिलमा मात्रै पूर्वी चटमा बाढीका कारण ४ अर्ब ८० करोड डलर बराबरको बीमा क्षति भएको थियो । यसबाहेकका अन्य क्षति पनि थुप्रै थिए । बाढीका कारण शनिवार त्यहाँ एक जनाको मृत्यु भएको छ । पछिल्लो समय बाढीको मारमा भिक्टोरिया राज्य परेको छ । नदीमा पानीको स्तर बढेर कीर्तिमानी स्तरमा उक्लिएको छ । अन्य राज्यमा पनि अवस्था यस्तै खालको छ । 

यस वर्ष अष्ट्रेलियामा लगातार तेस्रो वर्ष पनि ला निनाको प्रभावमा रह्यो । ला निनाका कारण पूर्वी क्षेत्रमा औसतभन्दा धेरै वर्षा भयो । अत्यधिक वर्षाको अर्को कारण चाँहि इन्डियन ओसन डिपोल रह्यो । इन्डियन ओसन डिपोल भनेको हिन्द महासागर नजिकको वर्षाको प्रवृत्तिलाई प्रभावित बनाउने जलवायु अवस्था हो ।

मेमा सो अवस्था नकारात्मक रह्यो । यसले सेप्टेम्बरदेखि नोभेम्बरमा अष्ट्रेलियामा औसतभन्दा धेरै वर्षा हुने सम्भावना बढाइदिएको मौसम विज्ञहरुले बताएका छन् । अष्ट्रेलियाभन्दा उत्तरमा रहेको समुद्रमा तातो बढी भयो । फलतः हिन्द महासागारबाट अष्ट्रेलियाको पूर्वी क्षेत्रमा थप आर्दता प्रवाह भएका न्यू साउथ वेल्स विश्वविद्यालयको जलवायु अनुसन्धान केन्द्रका वरिष्ठ अनुसन्धाता अगस सान्तोसो ।

यसमाथि आँधी कोष (स्ट्रोम सेल्स) ले अवस्था झनै  बिगारिदियो । आँधी कोषका कारण पूर्वी क्षेत्रमा हालै मात्रै भारी वर्षा भएका छन् । खराब मौसम, आँधी र वर्षा प्रणाली सबैका कारण अहिले पूर्वी अष्ट्रेलिया बाढीको चपेटामा परेको सान्तोसोको भनाइ छ । आगामी महीनाहरुमा ला निना र इन्डियन ओश डिपोलको प्रभाव घट्दै जाँदा मौसमी अवस्था गर्मीयाममा विशेषतः सुध्रिने सान्तोसोको भनाइ छ ।

अर्को ला निना आउने क्रममा रहेकोले बसन्तको शुरु र गर्मीयामको शुरुमा पूर्वी अष्ट्रेलियामा औसतभन्दा बढी वर्षा हुने अष्ट्रेलियाको मौसम विभागले प्रक्षेपण गरेको छ । अष्ट्रेलियामा अक्टोबरदेखि अप्रिलको बीचमा मौसमी अवस्था निकै खराब बन्ने गरेको छ । यति बेला पूर्वी र उत्तरी क्षेत्रमा बाढी झनै व्यापक बन्न सक्ने चेतावनी मौसम विभागको छ ।

पूर्वी क्षेत्रमा नदीमा पानीको स्तर उच्च रहेको र बाँधहरु पनि भरिएको अवस्थामा थप वर्षाका कारण झनै धेरै स्थानमा बाढी आउने र न्यून तटीय क्षेत्र डुबानमा पर्ने चेतावनी मौसम विभागले यही महीना दिएको थियो ।

के हो ला निना घटना ?
ला निना भनेको वर्षामय गर्मी हो । गर्मी महीनामा औसतभन्दा बढी वर्षाको स्थिति सृजना भएमा र यसको प्रभाव स्वरूप बाढी र चक्रवत जस्ता मौसमी घटना घटेमा यसलाई ला निना भन्ने गरिन्छ । 

ला निना जटिल मौसमी प्रभाव हो । यसले  केही वर्षको अनुपातमा प्रशान्त महासागरको भूमध्ये रेखामा रहेको समुन्द्री तापक्रममा आएको भिन्नताका कारण प्रशान्त महासागरको तातो हावालाई साउथ अमेरिकाभन्दा टाढा इन्डोनेशियातर्फ धकेल्दछ ।

अस्ट्रेलियामा ला निनाका कारण वर्षा बढी हुने र बादल लाग्ने गरेको छ । यसका कारण बाढी,चक्रवात र मनसुन आगमनको समयपनि प्रभावित भएको मौसमविद्हरु बताउँछन् । अस्ट्रेलियामा सन् १९९० देखि ला निनाको प्रभाव परेको देखिन्छ । १८ ओटा ला निनाका मौसमी घटना मध्ये १२ वटामा बाढीको प्रकोप परेको थियो । एजेन्सी 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।