चितवन । जिल्लामा रहेर फूल खेती गर्ने किसानले तिहारका लागि फूल र मालाको मूल्य निर्धारण गरेका छन् । व्यावसायिकरूपमा पुष्प खेती गर्ने कृषकले बजारमा एकरूपता ल्याउन फूल र मालाको मूल्य निर्धारण गरेका हुन् ।
कृषकले मंगलवार पत्रकार सम्मेलन गरी तिहारको तीन दिनका लागि सयपत्री फूलको माला प्रतिगोटा खुद्रा ९० देखि १०० रुपैयाँ र थोक मूल्य ६० देखि ७० रुपैयाँ कायम गरिएको जानकारी दिएका छन् । तिहारपछिका लागि खुद्रा मूल्य ७० र थोक मूल्य ५० रुपैयाँ राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सयपत्री फूलको मूल्य प्रतिकिलो ३ सय ५० देखि ४ सय रुपैयाँ कायम गरिएको कृषकले बताए । सिजनबाहेक अन्य समयमा यसको मूल्य न्यून रहने गरेको छ ।
भारतबाट आयात हुने मालाले नेपाली मालाको बजार विस्थापित गर्न खोजेको भन्दै किसानले मालाको मूल्य निर्धारण गरेका हुन् । फ्लोरिकल्चर एशोसिएशन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले नेपाली मालाको मूल्य बढी हुँदा भारतीय मालाको आयात बढ्ने भएकाले मूल्य निर्धारण गर्न बाध्य भएको बताए । जिल्लालाई यहीँ उत्पादित मालाले पुग्ने भन्दै उनले भारतीय मालाको प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरे ।
जिल्लामा अहिले ४० देखि ५० बिघा क्षेत्रफलमा फूल खेती गरिएको सो अवसरमा जानकारी दिइयो । फूलमाला फर्मका सञ्चालक गोविन्द बास्तोलाले तिहार लक्षित भारतीय माला नेपाल आइसकेको जानकारी दिए । चितवनमा मात्रै एक ट्रक माला आएको र ठूलो मात्रामा माला आउन लागेको उनले बताए ।
‘भारतीय माला नेपालका विभिन्न चिस्यान केन्द्रमा राखिएको छ । अब केही दिनमा बजारमा ल्याउने तयारी गरिँदै छ,’ उनले भने । यसको विरोधमा कृषकले तिहार शुरू भएलगत्तै स्थानीय प्रशासनको सहयोगमा त्यस्ता माला नष्ट गर्ने उनले बताए । भारतीय मालामा केमिकल प्रयोग हुने हुँदा बजारमा ल्याएको केही समयमै कालो हुन थाल्ने उनको भनाइ छ । मालामा सुतली प्रयोग गरिने र छिटो बिग्रने हुँदा मानिसको स्वास्थ्य र कपडामा समेत असर गर्ने उनले बताए । बास्तोलाले कालिका नगरपालिका वडा नम्बर २ मा २ बिघा क्षेत्रफलमा फूल खेती गरिरहेका छन् । प्राध्यापकसमेत रहेका उनले फूलमाला फर्ममार्फत पुष्प व्यवसाय गर्दै आएका छन् ।
असोजदेखि मङ्सिरसम्म यो व्यवसाय हुने उनको भनाइ छ । जिल्लामा ठूलो मात्रामा व्यवसाय गर्ने कृषक १० देखि १५ जना छन् । उनीहरूले एक बिघाभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय गरेको बास्तोलाले जानकारी दिए । रत्ननगर कृषि शाखाका प्रमुख प्रवीण लामाले एक बिघा १० कट्ठामा पुष्प व्यवसाय गर्दै आएका छन् । तीन जना मिलेर शुरू गरेको व्यवसाय राम्रो भए पनि बजारमा मूल्य निर्धारण भएसँगै कृषकको मनोबल बढ्ने उनले बताए ।
तिहारका लागि जिल्लामा पाँच लाख मालाको माग रहेको भन्दै उनले जिल्लाले यो माग धान्न सक्ने बताए । अहिले व्यावसायिकरूपमा पुष्प खेती गर्ने कृषकले जिल्लामा तीनदेखि चार लाख माला उत्पादन गर्ने उनले जानकारी दिए । जसमध्ये ५० हजारदेखि एक लाख माला मखमलीको हुनेछन् ।
जिल्लामा उत्पादित मालाबाट कृषकले ४ करोडको कारोबार हुने अपेक्षा राखेका छन् । गतवर्ष जिल्लाको उत्पादनले स्थानीय बजारको ६० प्रतिशत माग धानेकोमा अहिले ८० प्रतिशत पुग्ने उनीहरूको अनुमान छ । २० प्रतिशत माला गाउँघरमा आफै बनाउने हुँदा स्थानीय बजारलाई माला पर्याप्त हुने कृषकले बताएका छन् ।
नेपालमा स्वरोजगार बन्नका लागि यो व्यवसाय उत्तम भएको अर्का कृषक सुन्दर बस्नेतले बताए । उनका अनुसार पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउन कृषकले मालाको मूल्य तय गरेका हुन् । अहिले यो व्यवसायबाट दुई सयले रोजगारी पाइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । तिहारको समयमा ८० प्रतिशत लागत उठ्ने कृषकको भनाइ छ । बिचौलियका कारण माला विक्री नहुने चिन्ता बढेको भरतपुर महानगरपालिका–९ की लक्ष्मी सापकोटाले बताइन् । ‘यस वर्ष मौसमका कारण उत्पादन राम्रो छ तर भारतीय मालाका कारण समस्या आउने चिन्ता बढी रहेको छ,’ उनले भनिन्, ‘हामीले दुःख गरेका छौं तर भारतीय माला बजारमा आउन शुरू भइसक्यो ।’ कृषकले तिहारलाई लक्ष्य गरेर माला तयार गर्न थालिसकेको सो अवसरमा जानकारी दिइयो । रासस
कुनको कति ?
सयपत्री माला– तिहारलाई खुद्रा ९० देखि १०० र थोक मूल्य ६० देखि ७० रुपैयाँ, तिहारपछिका लागि खुद्रा ७० र थोक मूल्य ५० रुपैयाँ, सयपत्री फूल– प्रतिकिलो ३५० देखि ४०० रुपैयाँ
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।