६ महीनामा २५७ प्रतिशतसम्म बढ्यो आलुको मूल्य, 'भाउ आकासिँदा आलु खान पनि सम्झौता'

Share News

काठमाडौं । आन्तरिक उत्पादनमा कमी आउँदा पछिल्लो ६ महीनाको अवधिमा आलुको मूल्य २ सय ५७ प्रतिशतसम्मले बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार यस अवधिमा रातो आलुको मूल्य सबैभन्दा धेरै (२ सय ५७ प्रतिशत) ले बढेको हो ।

गत वैशाख पहिलो साता २८ रुपैयाँ किलो रहेको रातो आलुको औसत थोकमूल्य अचेल सय रुपैयाँ पुगेको छ । खुद्रा बजारमा उपभोक्ताले अझ बढी तिर्नुपर्छ । खुद्रा पसलमा अहिले स्वदेशी रातो आलुलाई प्रतिकिलो १ सय ५० रुपैयाँसम्म तिर्नुपरेको उपभोक्ताको गुनासो छ । यो ६ महीनामा भारतीय रातो आलुको मूल्य पनि ९२ प्रतिशतले बढेको छ । वैशाख पहिलो साता २५ रुपैयाँ किलो रहेको भारतीय रातो आलुको मूल्य ४८ रुपैयाँ किलो पुगेको छ । मुडेको आलुको औसत मूल्य १ सय ३६ प्रतिशतले बढेर ३३ रुपैयाँ किलोबाट ७८ रुपैयाँ पुगेको छ । त्यसैगरी सेतो आलुको मूल्य २ सय ३९ प्रतिशतले बढेर किलोको २३ रुपैयाँबाट ७८ रुपैयाँ पुगेको छ ।

थोक बजारमा मूल्य बढ्दा त्यसको प्रभाव खुद्रा बजारदेखि उपभोक्ताको भान्सासम्मै परेको छ । ‘हामी उपभोक्ता थोक बजारमा किन्न जाँदैनौं । हामीले किन्ने भनेको घरनजिकैको खुद्रा पसलमा हो । खुद्रामा किन्दा अहिले सबैभन्दा सस्तो आलुलाई पनि ८० देखि सय रुपैयाँसम्म पर्छ,’ कीर्तिपुरकी सरिता नेपाली भन्छिन् । सबै किसिमका तरकारीमा मिल्ने भएकाले भान्सामा सबैभन्दा बढी प्रयोग हुने आलु नै हो । अहिले भाउ आकाशिएपछि आलुको प्रयोग कम गरेको नेपालीले बताइन् । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार आन्तरिक उत्पादन घटेपछि आलुको मूल्य आकाशिएको हो । अहिले भारतीय बजारबाट आलु आयात गरेर बजार माग धान्न थालिएको उनले बताए । मङ्सिर दोस्रो सातादेखि नेपाली आलु बजारमा आउन थालेपछि मात्रै मूल्य ओरालो लाग्ने उनको अनुमान छ । यतिबेला कालीमाटीको थोक बजारमा भित्रिनेमध्ये करीब ८० प्रतिशत आलु भारत र भुटानबाट आयातित हुन्छ । 

नेपालमा आलुको बढ्दो माग र खपतका कारण करीब १५ वर्षअघिको तुलनामा उत्पादन दोब्बरले बढ्दा पनि आलुमा आत्मनिर्भर हुन नसकिएको राष्ट्रिय आलु तथा मसला बाली विकास केन्द्रका बागवानी विकास अधिकृत सन्दीप सुवेदी बताउँछन् । उत्पादन अपेक्षाकृत नबढ्नुमा मुख्य कारण गुणस्तरीय बीउ र मलको अभाव रहेको उनको भनाइ छ । सामान्य अवस्थामा नेपालमा उत्पादन हुने आलुले कुल बजार मागको ९० प्रतिशत धान्छ । बाँकी १० प्रतिशत माग पूरा गर्न विदेशबाट आयात हुने गरेको सरकारी तथ्यांक छ ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा १ लाख ९८ हजार हेक्टर क्षेत्रफलमा ३३ लाख २५ हजार मेट्रिक टन आलु उत्पादन भएको राष्ट्रिय आलु तथा मसला बाली विकास केन्द्रको भनाइ छ । उक्त वर्ष ३ लाख ४२ हजार टन आलु बाह्य मुलुकबाट आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।