काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका छन् ।
बुधवार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक अधिकारीले वायुसेवा निगमले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवामा प्रश्न उठ्ने गरेको भन्दै ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका हुन् ।
उनले वायुसेवा निगममा हुँदै आएको राजनैतिक किचलोका कारण जुनसुकै बेला हवाई उडान सेवामा अवरोध हुनसक्ने भन्दै प्राधिकरणले उपयुक्त समयमा निर्णय गर्नेपनि बताए । महानिर्देशक अधिकारीले कुनैपनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउण्ड ह्याण्डलिङ सेवा दिनसक्ने कानूनी व्यवस्था रहेको उल्लेख गरे ।
वायुुसेवा निगमका कर्मचारीले नै आन्दोलन वा हड्ताल गरे सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भन्दै उनले अन्तरराष्ट्रिय विमानस्थल बन्द हुने जोखिमलाई मध्यनजर गर्दै विकल्प खोज्न आवश्यक देखिएको बताए ।
अधिकारीले कानूनले दिएको अधिकार समान रुपमा प्रयोग गरी कार्यान्वयन र विकल्प प्रस्तुत गर्न प्राधिकरण सचेत रहेको पनि उल्लेख गरे । प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङको वैकल्पिक व्यवस्था सहितको हवाई उडान गर्नेकुरा चाँडै निर्णय गर्ने उनको दाबी छ ।
उनले यसअघि प्राधिकरणले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सेवा अनुमति दिँदा निजी एयरलाइन्सलाई दिएको भनेर मिडियाको प्रेसरबाट प्राधिकरण निजी वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिने विषयमा पछाडि हटेको पनि बताए ।
अधिकारीले हप्तामा ३५ ओटा हवाई उडान गर्ने कम्पनीले ग्राउण्ड ह्याण्डलिङ सेवा दिन्छु भन्दा कानूनी रुपमा प्राधिकरणले अनुमति दिनुपर्ने बताए । हवाई उडान कम्पनीले व्यापार गर्नको लागि उडानमा बढी प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
अधिकारीको भनाइअनुसार प्राधिकरण निजी क्षेत्रको अन्तरराष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको जिम्मा दिने तयारी रहेको देखिन्छ । अहिलेसम्म नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् । निगमले शुरूदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।