गाउँको माया : आफू पढेको स्कूलको स्तरोन्नतीका लागि पूर्व विद्यार्थीले गरे १ करोड रुपैयाँ सहयोग

Share News

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पूर्व विद्यार्थीले १ करोड रुपैयाँ बढी सहयोग जुटाएका छन् ।

दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न धारापानी पूर्व विद्यार्थी सङ्घले अक्षयकोष स्थापना गर्न आर्थिक स्रोत जुटाएको हो । सङ्घका अध्यक्ष भरतबहादुर थापाले स्वदेश तथा विदेशमा रहेका धारापानी र छिमेकी गाउँका बासिन्दाबाट १ करोड ३ लाख रुपैयाँ सहयोग जुटेको जानकारी दिए । 

सामाजिक सञ्जाल फेसबुकबाट अभियानका साथै सांस्कृतिक कार्यक्रम गरेर आर्थिक सङ्कलन गरिएको हो । धारापानीकी सरु पुनले सबैभन्दा बढी ७ लाख रुपैयाँ उपलब्ध गराएकी छिन् ।

विद्यालयको भवन बनाउन स्थानीय चक्रबहादुर थापा, उनका भाइ पूर्ण थापा, बहिनी सुवा र मना खत्रीले बुबा चन्द्रबहादुर थापा र आमा कुन्तादेवी थापाको नाममा ७ रोपनी जग्गा उपलब्ध गराएका छन् । जग्गा उपलब्ध गराउने दाताको नाममा विद्यालयको नामाकरण गरिएको छ । यसअघि किसानी मावि नाम रहेको थियो । दाताको नाम थपेर किसानी चन्द्रकुन्ता मावि बनाइएको छ ।

धारापानी घर भई हाल अमेरिकामा रहेका मोहन थापाले ५ लाख, बेदबहादुर राना र गीता रानाले ५ लाख, तेजिन्द्र थापा र विष्णु थापाले ३ लाख, काठमाडौँमा बस्ने पदमजङ्ग थापाले १ लाख, लालबहादुर राना र नरदेवी रानाले १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

सहयोग गरिएको रकम एक वर्षभित्र जम्मा गरिसक्ने र अक्षयकोष बनाएर विद्यालयको स्तरवृद्धिका लागि परिचालन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर थापाले बताए ।

कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा २ सय २८ जना विद्यार्थी छन् । -रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।