काठमाडौं । नेपालमा वार्षिक १२ लाख ४९ हजार टन फलफूल उत्पादन हुने गरेको सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय फलफूल विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७७/७८ मा नेपालका विभिन्न भूभागमा गरी १ लाख १९ हजार हेक्टर उत्पादनशील जग्गामा १२ लाख ४९ हजार ७ सय ६४ टन फलफूल उत्पादन भएको हो ।
केन्द्रले स्याउ, नास्पाती, सुन्तला, जुनार, केरा, आँप, मेवालगायत नेपालमा उत्पादन हुने मुख्य फलफूलको तथ्यांक समेटेर कुल उत्पादनको आँकडा तयार गरेको हो । पछिल्लो ११ वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी फलफूल आव २०७७/७८ मै उत्पादन भएको देखिएको छ । त्यसैगरी सबैभन्दा कम आव २०६७/६८ मा उत्पादन भएको छ । उक्त वर्ष नेपालमा ७ लाख ९४ हजार टन फलफूल उत्पादन भएको थियो । ७९ हजार हेक्टर उत्पादनशील क्षेत्रबाट उक्त परिमाणमा फलफूल उत्पादन भएको हो ।
उत्पादकत्वको अवस्थामा प्रत्येक वर्ष सुधार देखिँदै गए पनि अझै नेपाल फलफूलमा आत्मनिर्भर हुन सकेको छैन । आव २०७५/७६ मा ९ दशमलव ७३ टन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा यो अवस्था सुधार हुँदै २०७७/७८ मा प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ५० प्रतिशत पुगेको छ । सोही वर्ष नेपालले २ लाख ८० हजार टन फलफूल आयात गरेको तथ्यांक छ । आव २०७७/७८ मा ३ सय ७२ टन फलफूल निर्यात भएको केन्द्रको तथ्यांकले देखाएको छ ।
केन्द्रको अध्ययनअनुसार करीब ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४ दशमलव ७९ प्रतिशत फलफूल खेतीले ओगटेको छ । त्यसैगरी नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रले गरेको करीब २३ प्रतिशत योगदानमध्ये ७ दशमलव शून्य ४ प्रतिशत फलफूल खेतीको छ ।
फलफूल व्यवसायको व्यापक विस्तार गर्दै १० वर्षभित्र प्रमुख फलफूलमा देशलाई आत्मनिर्भर बनाएर निर्यात प्रवर्द्धन गर्ने उद्देश्यका साथ आव २०७३/७४ देखि २०८२/८३ सम्मलाई फलफूल दशक घोषणा गरिएको छ । फलफूल दशक सफल पार्न भन्दै विभिन्न कार्यक्रम अघि सारिए पनि वर्षेनि ठूलो परिमाणमा फलफूल आयात भइरहेको छ । केन्द्रका सूचना अधिकारी यामकुमारी श्रेष्ठका अनुसार फलफूल किसानका लागि आवश्यक पर्ने गुणस्तरीय बीउ, तालीमप्राप्त दक्ष प्राविधिक र उपयुक्त बजार तथा मूल्यको अभावका कारण सम्भावना हुँदाहुँदै पनि फलफूल उत्पादनमा आत्मनिर्भर हुन सकिएको छैन ।
भर्खरै सकिएको तिहारका लागि मात्रै भारत र चीनबाट करीब ३० करोड रुपैयाँको स्याउ र ४० करोड रुपैयाँ बराबरको केरा आयात भएको नेपाल फलफूल थोक व्यवसाय संघ काठमाडौंका अध्यक्ष अमर बानियाँले जानकारी दिए । त्यसैगरी ५ करोडको सुन्तला र २ करोड रुपैयाँको नरिवल भित्रिएको उनले बताए ।
बानियाँका अनुसार तिहारका लागि मात्रै कुलेश्वरको फलफूल बजारमा विभिन्न थरीका करीब ७२ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ । कतिपय अवस्थामा स्वदेशीभन्दा विदेशी फलफूलले बजार मूल्य बढी पाउने भएकाले पनि नेपाली उत्पादक हतोत्साहित हुन पुगेको जानकार बताउँछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।