३ महीनादेखि बन्द हेटौडा सिमेन्ट उद्योग सञ्चालनमा, भुटानबाट कोइला ल्याएर क्लिङ्कर उत्पादन

Share News

मकवानपुर । ३ महीनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन शुरू भएको छ ।

भट्टीमा कोइलाको आपूर्ति गरेर आजै काम शुरू गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जानकारी दिएको छ ।

उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ ।

हाल १४ हजार मेट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

उद्योगमा केही महीनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थियो ।

हाल वैकल्पिक उपायको अवलम्बन गरी सिमेन्टको पुनः उत्पादन शुरू गरिएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए ।

उनका अनुसार उद्योगले ३ महीनासम्म उत्पादन बन्द गर्नुपर्दा निकै क्षति व्यहोर्नुपरेको र वैकल्पिक आर्थिक कारोबारको लागि उपाय अवलम्बन गरेर मात्रै उद्योग सञ्चालनमा ल्याउन सहज भएको छ ।

उद्योगका उपकरणको मर्मतसम्भारको लागि २ हप्ता उत्पादन बन्द गरिएको भए पनि कोइलाको अभावले गर्दा साउनको दोस्रो हप्तादेखि सिमेन्ट उत्पादन बन्द गर्न बाध्य भएको उद्योग व्यवस्थापनले बताएको छ ।

सो उद्योगबाट दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ । -रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।