भूमिगत पार्किङ खाली गराउन पोखरा महानगरले लगायो डोजर, 'आफै खाली नगरे २०० घरमा डोजर'

Share News

पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हुँदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान शुरू गरेको छ । 

भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटकपटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि महानगरले मंगलवारदेखि डोजर लगाउन शुरू गरेको हो ।

सूचना नै दिएर भूमिगत पार्किङ खाली गर्न आग्रह गरिएको तर उनीहरूले २ महीना बितिसक्दा पनि उक्त सूचनालाई लत्याएपछि डोजर लगाउन शुरू गरिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

भूमिगत पार्किङका लागि भनेर यसअघि महानगरपालिकाबाट कर छुट लिएर  निर्माण गरिएका ती भवन वषौँदेखि पार्किङका रूपमा नभई व्यापारिक प्रयोजनको रूपमा प्रयोग हुँदा महानगरले पटकपटक त्यस्ता सामग्री हटाउन आग्रह गर्दै आएको थियो ।

केही घरधनीले यसअघि नै व्यापारिक सामग्री खाली गरेका छन् भने अटेर गर्नेको घरमा डोजर लगाइएको प्रमुख आचार्यले जानकारी दिए । भूमिगत पार्किङ धेरै मात्रामा चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, सृजनाचोक, पृथ्वीचोक र लेकसाइडमा रहेका छन् । 

अटेर गरेको भन्दै महानगरले पोखराको चिप्लेढुङ्गास्थित आरके बिल्डिङ र महेन्द्रपुलस्थित गरिमा विकास बैंक भएको भवनमा डोजर लगाएको छ ।

महानगर क्षेत्रमा २ सय बढी घरमा भूमिगत पार्किङ भएका भवन रहेको आचार्यले बताए । ती पार्किङलाई पार्किङका रूपमा प्रयोग गर्न सके पोखराको सडकमा अव्यवस्थित पार्किङ र ट्राफिक जामलाई केही हदसम्म कम गर्न सकिने उनको भनाइ छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।