वर्षमा ९ महीना हिमालमा बिताउने चौँरी किसान : 'मुस्किलले २ लाख कमाइ, छोराछोरी पढ्नै पाउँदैनन्'

Share News

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा तीन महीना मात्रै घरमा हुन्छ । बाँकी नौ महीना भने उच्च हिमाली भेगमा हिउँसँग चिप्लेटी गर्दै बित्छ ।

घर खर्च चलाउनका लागि चौँरी स्याहार्ने उनी जङ्गली जनावरको समेत सामना गरेर ९/९ महीनासम्म हिमाली भेगमा बिताउँछन् । तीन महीना भने उनी मानव बस्तीमा झर्छन् । 

हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौँरी खर्कमा बिताउने गरेका छन् । यो समयमा उनको सङ्गत आफ्नै परिवारका सदस्यका अलावा चौँरी र आसपासका चौँरीपालक किसानसँग मात्र हुन्छ ।

पुस्तौंदेखि चौँरीपालन व्यवसाय गर्दै आएका शेर्पा मात्रै होइन, सिन्धुपाल्चोककै पारिगाउँको नामले चिनिने जुगल गाउँपालिका–३ गुम्बाका दर्जन बढी चौँरीपालक किसानको दैनिकी हो यो ।

चौँरीबाट हुने आम्दानीका लागि शेर्पाले नौ महीनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन् । आफ्नो परिवारसमेत सँगै लैजाने गरेको उनले सुनाए ।

'पढेको छैन, अरु सीप पनि छैन', शेर्पा भन्छन्, 'परिवारको सदस्यलाई पाल्नसक्ने खर्चको जोहो गर्नकै लागि लेकको बास भएको छ ।'

वर्षमा पाँचभन्दा बढी ठाउँमा चौँरीको गोठ सार्नुपर्छ । साथसाथै चौँरीपालकले आफ्ना बालबच्चाको आश्रय पनि परिवर्तन गरिरहेका हुन्छन् । जुगल हिमालको बेसक्याम्प रहेको पुम्बासेर्पु, नेपेमासालसम्म उनीहरूले चौँरीको गोठ सार्छन् । पुम्बासेर्पु समुद्री सतहबाट चार हजार पाँच सय मिटर उचाइमा पर्छ ।

‘बाबु हजुरबादेखि थाहा भएसम्म यही पेसा गरेँ, खर्कमै हुर्किएँ अनि मैले पनि यही पेसालाई निरन्तरता दिएँ', जुगल हिमालको फेदीमा पर्ने ङिमाल्हा खर्कमा भेटिएका जाङ्बुले भने, 'चौँरी चराउने, दुहुने, छुर्पी र घिउ बनाउने दिन यसरी नै बित्छ', बच्चैदेखि हिमाली भेगमै बसेकाले जङ्गली जनावरको डर नलाग्ने उनको भनाइ छ ।

खर्कका पुरुष सदस्य अन्न सकिएपछि गाउँमा खाद्यान्न लिन जाने भए पनि महिला र बालबालिकाले नौ महिनाको अवधिमा कुनै घर र नौला मान्छे देख्न पाउँदैनन् । सारा संसार खर्क नै हुन्छ । उनीहरू जाडो बढ्दै गएपछि केही समय मानव बस्तीको नजिक पुग्ने भए पनि बाँकी समय फराकिलो खर्कको सीमित व्यक्तिसँगको सहकार्यमै रमाउँछन् । 

छ जनामध्ये चार जनाको परिवारसहित खर्कमा भेटिएका पेरोम्जी शेर्पा वर्षभरि दुःख गरेर दुई लाखसम्म आम्दानी हुने बताउछन् । 'आफैं बजार पुग्न भ्याइँदैन, खर्कमै आएर ठेकेदारले दिएको मूल्यमा छुर्पी र घिउ बेच्नुपर्छ', शेर्पा भन्छन्, 'दुःख धेरै आम्दानी कम भए पनि चित्त बुझाउनुपरेको छ ।'

छोराछोरी शिक्षाबाटै वञ्चित

शेर्पाका पछिल्ला दुई सन्तान आफन्तकामा बसेर पढ्दै गरेको भए पनि अघिल्ला एक छोरी र छोराले भने खर्कमा आफूलाई सघाउनुपर्दा पढ्न पाएका छैनन् ।

बाबु–आमालाई सघाउन खर्कमा बसेकी १७ वर्षीया फूर्पा शेर्पालाई गाउँ जाँदा आफ्ना उमेरका साथीहरूको व्यवहार अनौठो लाग्छ । खर्कमा जन्मिएर खर्कमै हुर्किएकी फूर्पालाई वर्षको तीन महीना गाउँ नजिक हुँदा गाउँले जीवनले लोभ्याउँछ । तर पनि उनी चौँरी, खर्क र आफ्नो परिवारको घेराबाट निस्कन सकेकी छैनन् । 

'गाउँ पुग्दा साथीहरूले के–के कुरा गर्छन्, म त केही बुझ्दिनँ', मुस्किलले थोरै मात्र नेपाली भाषा बोल्ने फूर्पाले भनिन्, 'बा–आमालाई सघाउनुपरेकाले गोठमै बस्नुपर्छ, गाउँका कुरा केही थाहा हुँदैन ।'

साविक गुम्बा गाविसको तेम्बाथान र दिपुबाट पुसमा गोठ सार्न थालेपछि यहाँका चौँरीपालक किसान निमाला, दोङ्जाङमा, चाँसीखर्क, थालदर, नेपेमासाल हुँदै जुगल हिमशृङ्खलाको बेसक्याम्प पुम्बासेर्पुसम्म गोठ सार्छन् । तेम्बाथान र दिपुलगायत गाउँका शेर्पाहरूको प्रमुख आयस्रोत नै चौँरी व्यवसाय हो । -रुपक पुरी/रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।