जलवायु अनुकुलन पूर्वाधार विकास गर्न राष्ट्रपतिको अनुरोध, 'वातावरणमैत्री अर्थ प्रणाली आवश्यक'

Share News

मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकुलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गर्नुभएको छ । 

शुक्रवार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरू वातावरणमैत्री बनाउन आग्रह गर्नुभयो । मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकुलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न पनि आग्रह गर्नुभयो । उहाँले जलवायु अनुकुलन र वातावरणमैत्री व्यवहारका लागि अर्थप्रणालीमा पनि सुधार गरेर जानुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिरलाई व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले धार्मिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै भावि पुस्तामा समेत प्राकृतिक सुन्दरतालाई हस्तान्तरण गर्ने उद्देश्य हुनुपर्ने बताउँदै ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधारको विकासमा संघ,प्रेदश र स्थानीय तहको समन्वयकारी भुमिका आवश्यक रहेको बताउनु भयो ।

मुस्ताङको कोरला नाकाले मित्रराष्ट्र चीनसँगको व्यापार व्यवसाय गर्न सहज हुने भएकाले उत्पादनको सहज बजार र दुई देशबीचमा  स्थलमार्ग हुँदै व्यापार बिस्तारको नयाँ सम्भावना खोल्ने बताउनु भयो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।