काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७८ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ९३ लाख ४४ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. १९ लाख ८९ हजारमा झरेको छ ।
चालू आवमा कम्पनीले सम्भावित जोखिम व्यवस्थापनमा धेरै रकम छुट्याउँदा नाफा घटेको हो । कम्पनीले गत आवमा सम्भावित जोखिम व्यवस्थापनमा रू. २६ लाख ८६ हजार रकम छुट्याएकोमा चालू आवमा रू. ७२ लाख १२ हजार छुट्याएको छ । कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याएकाले सञ्चालन नाफा रू. ९ लाख ९९ हजार ऋणात्मक रहेको छ ।
त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. १० करोड रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा रू. १३ करोड ६९ लाख सञ्चित गरेको छ । यो जगेडा कोष गत आवको तुलनामा चालू आवमा ७३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा जगेडामा रू. ७ करोड ८७ लाख सञ्चित गरेको थियो ।
कम्पनीले चालू आवमा रू. ७७ करोड २८ लाख सापटी एवं रू. ४७ करोड ६२ लाख निक्षेप संकलन गरी रू. १ अर्ब ४५ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ९६ (वार्षिक), तरलता अनुपात १ दशमलव ६८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २३६ दशमलव ९४ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।