रसुवा । हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको संख्या रसुवा जिल्लामा क्रमशः वृद्धि हुँदै गएको छ । पर्यटकको आगमनसँगै होटल व्यवसायीको आर्थिक अवस्थासमेत सुध्रन थालेको छ ।
कोरोना संक्रमणपश्चात् फाट्टफुट मात्र आउने पर्यटक पछिल्लो समय क्रमशः बढेपछि प्रत्यक्ष रूपमा होटल तथा लज सञ्चालन गर्ने व्यवसायी एवं अप्रत्यक्ष रूपमा कृषि उपज उत्पादक किसानसमेत लाभान्वित भएका छन् ।
विगतमा कोरोना त्रासा कारण धराशायी बनेको हिमाली क्षेत्रका होटल तथा लज अहिले चलायमान भइसकेका छन् । आगन्तुक पाहुनालाई प्रफुल्लित तवरबाट छिटोछरितो सेवा प्रदान भइरहेको पर्यटकीय होटल व्यवसायी संघ रसुवाले जनाएको छ । असोजको पहिलो सिजनअन्तर्गत आएका पर्यटकलाई स्थानीयस्तरमा उत्पादन भएका तरकारीको परिकारले लोभ्याउँदै गएको छ ।
भ्रमणमा आएका पाहुनालाई स्थानीय आलु, रायोको साग, काउली, बन्दा, फर्सी, बरेला, स्कुस, डल्लेमुलाजस्ता तरकारी र खानाको हकमा स्वदेशी तथा विदेशी पर्यटकको चाहनाअनुरूप मकैको ढिँडो, भात, गहुँको रोटी एवं पाहुनाको चाहनाबमोजिम खाना तयार पारिँदै आएको व्यवसायीले बताएका छन् । पाहुना फर्कंदा ‘लौ साहुजी मीठो खुवाउनुभयो भन्दै प्रफुल्लित मुद्राले धन्यवाद’ भन्दै जाने गरेको होटल व्यवसायी बताउँछन् ।
पदयात्राका क्रममा गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटकका रूपमा महिलाको समेत सहभागिता बढ्न थालेको लाङ्टाङ राष्ट्रिय निकुञ्जको अद्यावधिक अभिलेखले बताएको छ । चालू आर्थिक वर्षको साउनदेखि गत कात्तिक १५ गतेसम्म १४ हजार ३ सय ९३ आन्तरिक एवं बाह्य पर्यटकमध्ये स्वदेशी तथा विदेशीसमेत करीब ३ हजार महिला पर्यटकको आगमन भएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज वन प्राविधिक नितेन्द्र सिंहले जानकारी दिए ।
निकुञ्ज क्षेत्रमा भ्रमण गर्ने प्रत्येक नागरिकको लगत अद्यावधिक गर्ने र नियमानुसार तोकिएको प्रवेश शुल्क उठाउन पदमार्गका प्रवेशद्वारमा कर्मचारीको व्यवस्थापन एवं ठाउँठाउँमा चेतनामूलक होर्डिङबोर्डसमेत राखिएको छ । हिमाली पदयात्राका लागि हेलम्बुतर्फको पूर्वी एवं धुञ्चेतर्फबाट चन्दनबारी जाने यी दुई पदमार्गबाट पर्यटक गोसाइँकुण्ड पुग्ने र चोलाङपाटीबाट ठूलोस्याफ्रु हुँदै लाङ्टाङको क्याङ्जेन पुग्ने गरेका छन् ।
हिमाली प्रकृति छटाको रसास्वादन गर्न जाने पाहुनाको स्वागतार्थ धुञ्चेस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको कार्यालय नजिक स्वागतद्वार निर्माणका साथसाथै सन्देशमूलक सूचना एवं महत्त्वपूर्ण जनावरको चित्रसमेत राखिएका कारण पर्यटकको यात्रामा केही सहजता आएको बताउँदै निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई सहयोग दिन निकुञ्ज प्रशासन तयार रहेको जानकारी दिए ।
रसुवा पुग्ने विदेशी पर्यटकहरूमा सार्क राष्ट्रका साथै अमेरिका, जर्मन, जापान, कोरिया, अष्ट्रेलियासमेत विभिन्न देशका छन् । अन्य क्षेत्रको तुलनामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको भूभागमा अवस्थित हिमाली प्रकृतिको छटा अवलोकन गर्न राजधानी काठमाडौंबाट छोटो दूरी पर्ने र धुञ्चे पुग्नासाथ नजिक जसरी देख्न सकिने लाङ्टाङ हिमाल एवं गोसाइँकुण्ड नजिकको चुचुराले मनमोहक बनाउने आफ्नो अनुभव रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले सुनाए ।
कुनै पनि यात्रुले पैदलमार्गमा हिँड्दा देखिने जनावरलाई मार्ने, तर्साउनेजस्ता क्रियाकलाप नगर्ने, कुनै पनि वनस्पति बिरुवा भाँच्ने एवं काट्ने काम नगर्ने र आफूबाट उत्पन्न हुने कागज वा प्लाष्टिकजन्य सबै प्रकारका फोहोर तोकिएको स्थान वा ठाउँठाउँमा राखिएका ड्रममा मात्र फ्याँक्न अनुरोध गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
प्रतिव्यक्ति नेपालीका लागि रू. १००, सार्क राष्ट्रका नागरिकका लागि रू. १ हजार ५०० एवं अन्य देशका नागरिकको हकमा रू. ३ हजार शुल्क लिने कानूनी प्रावधानलाई लाङ्टाङ राष्ट्रिय निकुञ्जले कार्यान्वयन गर्दै साउनदेखि कात्तिक १५ सम्म उठाएको रू. ५३ लाख ४२ हजार ५०० राजस्व राज्यकोषमा दाखिला गरिसकेको छ ।
आगन्तुकहरू शरद ऋतुको सफा मौसममा देखिने हरिया डाँडा, पदयात्रामा भेटिने वन्यजन्तु, उकाली–ओराली, लाङ्टाङ हिमाल, गोसाइँकुण्ड, धुञ्चेस्थित नेपालको पहिलो तामाङ संग्रहालय र ऐतिहासिक घलेराजाको दरबारस्थल, बाटोमा हिँड्दा भेटिने पुराना माने, चट्टानले भरिएका पहाड, छ्याङछ्याङ गर्ने ठाडो खोल्छा, स्थानीय परिकारका अर्गानिक खाना, स्थानीय वेषभूषा, स्थानीय सांस्कृतिक नाचगानले नै पर्यटक प्रफुल्लित हुने गरेका छन् । फर्किने क्रममा सबै पाहुना खुसी भएर जाने गरेको पाइएको निकुञ्जका कर्मचारीले बताएका छन् ।
पर्यटक सेवाका लागि धुञ्चे, स्याफ्रुबेंसी, ठूलोस्याफ्रु, लाङ्टाङ तथा गोसाइँकुण्ड समेतका स्थानमा १०० भन्दा बढी लज तथा होटलले सेवा दिइरहेका छन् । हिमाली क्षेत्रमा चिसोपन बढिसकेका कारण नयाँनयाँ बाक्ला सिरक, डस्ना सहितका बिस्तारा राखिएकाले रातको समयमा पाहुनालाई जाडोको प्रवाह नहुने बताउँदै पर्यटकीय होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले जानकारी दिए ।
यस्तै भ्रमण गर्न आएका पाहुनाको खर्च साउनदेखि कात्तिक १५ सम्म लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गका होटल लज तथा होमष्टे क्षेत्रमा भ्रमण गरेका पाहुनाले खर्च गरेको बताइएको छ । यस्तै गोसाइँकुण्ड तथा लाङ्टाङका साथै तामाङ सम्पदा मार्गअन्तर्गत गोल्जुङ, गतलाङ, चिलिमे, नाकथली, थुमन तथा बृद्धिम होमस्टेसम्मको यात्रासमेत रोमाञ्चकारी बन्दै गएको छ ।
रसुवा भ्रमणमा आउने सबै पाहुनाका लागि विशेष सुरक्षा व्यवस्थाअन्तर्गत नेपाल प्रहरीका साथै स्याफ्रुबेंसीमा पर्यटन प्रहरी युनिटसमेत रहेकाले यात्राका लागि सुरक्षा आवश्यक पर्नासाथ प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयले सबै पाहुनामाझ अनुरोधसमेत गरेको छ । -रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।