सुदूरपश्चिममा भूकम्प : डोटीमा एकै परिवारका ३ जनासहित ६ जनाको मृत्यु, ५ घाइते

Share News

डोटी/बझाङ । डोटी केन्द्रविन्दु भएर मंगलवार मध्यराति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मंगलवार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३, गैरागाउँमा भूकम्पले घर भत्किँदा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए । मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३, ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । तीमध्ये एकै परिवारका तीन जनासमेत रहेकाे गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए । 

भूकम्पमा परी घाइते ५ जनालाई अस्पताल ल्याइएको भट्टले बताए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय शिक्षक मीनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ । 

भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिए । त्यसअघि पनि राति ९ः०७ बजे दिपायल केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो । 

बझाङमा रातभर जाग्राम

बझाङमा पनि भूकम्पको धक्कापछि यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् । मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए । खप्तडछान्ना– ५ कि लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेकाे बताइन् ।  

उनका अनुसार पुराना घरहरू भत्किएका छन् भन्ने खबर छ । राति हुनाले केही जानकारी आउन सकेको छैन । जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि कैयौं मानिस सुदूरपश्चिमाञ्चल बोडिङ स्कुलको चौरमा भेला भएका छन् । पछिल्लो केही समयता सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महसुस भइरहेको छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।