आदर्श लघुवित्त वित्तीय संस्थाको नाफा ४७ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी कति ?

Share News

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४७ दशमलव ८३ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ६ लाख ६९ हजार नाफा कमाएकोमा चालू आवमा रू. ३ लाख ४९ हजारमा झरेको छ ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको र सम्भावित जोखिम व्यवस्थापनमा धेरै रकम छुट्याएकोले नाफा घटेको छ । कम्पनीले गत आवमा सम्भावित जोखिम बापतको व्यवस्थापनमा रू. ७ लाख ९० हजार छुट्याएकोमा चालू आवमा रू. ९ लाख ९४ हजार छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ४७ प्रतिशत घटेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. २ करोड ७ लाख रहेको छ भने जगेडामा रू. १ करोड २७ लाख सञ्चित गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ११ करोड ५२ लाख सापटी र रू. १४ करोड ९० लाख निक्षेप संकलन गरेर रू. २८ करोड ९५ लाख कर्जा लगानी गरेको छ ।

सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७६ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ४७ गुणा,तरलता अनुपात ४ दशमलव २९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६१ दशमलव ६७ रहेको छ । कम्पनीले वाग्मती प्रदेशका ५ जिल्लामा रहेका ७ ओटा शाखा कार्यालयहरूमार्फत ६ हजार ७८ जना ग्राहकलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।