युनिलिभर नेपाल [कम्पनी परिचय]

Share News

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल UNLले सन् १९९२ देखि नेपालमा व्यवसायिक उत्पादनहरु गरिरहेको छ । युनिलिभर नेदरल्यान्ड र यूकेमा मुख्य कार्यालय रहेको बहुराष्ट्रिय कम्पनी हो । जसले हिन्दुस्तान युनिलिभर इन्डियामार्फत नेपालमा ८० प्रतिशत लगानी गरेको छ ।

युनिलिभर नेपालको नेपाल यात्रा निकै रोचक छ ।  इन्द्रचोकका व्यापारी इन्द्रभक्त श्रेष्ठले त्यतिखेर भारतको हिन्दुस्तान युनिलिभरबाट साबुन, स्याम्पु तथा अन्य कस्मेटिक सामानहरु थोकरुपमा खरीद गरेर नेपालमा विक्री वितरण गर्थे ।

सोही क्रममा उक्त कम्पनीले श्रेष्ठको विश्वासमा परेर नेपालमा युनिलिभर नामबाट व्यवसाय विस्तार गरेको थियो ।  हिस्दुस्तान युनिलिभरको मुख्य लगानीमा यो कम्पनी सञ्चालनमा आएको हो । कम्पनीले लाइफब्वाइ साबुन, सन्सिल्क स्याम्फू, लक्स, पोन्डस्, फियर एण्ड लभ्लीजस्ता घरायासी सामान उत्पादन गर्छ। 

श्रेष्ठका छोरा तथा  नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले बुवाको अनुरोध स्वीकार गरेर हिन्दुस्तान युनिलिभर  नेपाल प्रवेश जानकारी दिंदै आजका दिनमा कम्पनीले राम्रो व्यापार गरिरहेको बताए । 

उनले तत्कालिन सरकारले यति ठूलो बहुराष्ट्रिय कम्पनी नेपाल आउन इच्छुक हुँदा पनि दर्ता गर्न नै नमानेको प्रसँग सुनाउँदै बुवाले विभिन्न स्थानमा भनसुन र ताकेता गरेपछि मात्र कम्पनी दर्ता गरि छाडेको बताए । 

युनिलिभर नेपालमा हिन्दुस्तान युनिलिभरको ८० प्रतिशत, श्रीविक्रम ल्याण्ड एण्ड इण्डट्रियल कम्पनीको ५ प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत शेयर स्वामित्व छ । श्रीविक्रम ल्याण्ड एण्ड इण्डष्ट्रियलको तर्फबाट व्यवसायी रविभक्त श्रेष्ठ सञ्चालक छन् ।कम्पनीको अध्यक्षमा देव बाजपेई र प्रबन्ध निर्देशकमा अमलाइन मुखर्जी छन् । 

 नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत सबै कम्पनीमध्ये महँगो मूल्यको कम्पनी हो, युनिलिभर नेपाल । मूल्यमा बाँकी सबै इक्विटीलाई पछि पारेको कम्पनीले लाभांश र प्रतिफल वितरणमा पनि सूचीकृत अधिकांशलाई सजिलै उछिन्ने गरेको छ।सबल व्यवस्थापन, उत्साहजनक वित्तीय प्रदर्शनी र लगानीको शतप्रतिशत सुनिश्चितता पनि कम्पनीका थप सकारात्मक पक्ष हुन्।

सूचीकृत अन्य कम्पनीको तुलनामा निकै न्यून कारोबार सङ्ख्या र कम कित्ता खरीदविक्री हुने हुँदा पनि कम्पनीको मूल्यमा अप्रत्याशित उतारचढाव भने देखिंदैन। प्राथमिक शेयर निष्कासन पछिका आर्थिक वर्षहरूमा कम्पनीले लगानीकर्तालाई नगद लाभांश मात्र  दिएको  छ। कम्पनीको ट्रयाक अनुसार हालसम्म शेयरधनीहरुलाई नगद लाभांश मात्र दिने गरेको छ।

शेयर बजारमा ब्लूचिप भनेर चिनिने कम्पनीको शेयरमूल्य धितोपत्र बजारमा शुक्रवार कारोबार बन्द हुँदा १९ हजार ४८४ रुपैयाँ रहेको छ । बजार पूँजीकरण १७ अर्ब रुपैयाँभन्दा बढी छ ।  कम्पनीले आर्थिक वर्ष २०७८/ ७९ को लागि प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । गत कात्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

युनिलिभर नेपाल आज मुलुककै सबैभन्दा ठूला स्थानीय उत्पादक कम्पनीहरु मध्ये एक भएको छ जसको एउटा उत्पादन एकाई र चार ओटा प्याकेजिङ्ग गर्ने सह - एकाईहरु छन् ।
सबैभन्दा बढी राजस्व दाखिला गर्ने, लगानीकर्तालाई धेरै लाभांश दिने र कर्मचारीलाई बोनस दिनेमा पनि कम्पनी अगाडि रहेको छ ।कम्पनीले कयौंलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ भने यसको मूल्य श्रृंखलामा आवद्ध २० हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।