पूर्वप्रधानमन्त्रीको गृहजिल्लामा एक साता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी 

Share News

गोरखा । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको गृहजिल्ला गोरखाको विकट चुमनुब्री गाउँपालिकास्थित मतदान केन्द्रमा एक साता हिँडेर कर्मचारी पुगेका छन् । 

चुमनुब्री गाउँपालिका–१, सामागाउँको साम्दोमा एक साता हिँडेर मतदान अधिकृतलगायत कर्मचारी पुगेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । गोरखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने चुमनुब्री गाउँपालिकामा २२ ओटा मतदान केन्द्र छन् ।

मतदानको सबै तयारी पूरा

प्रतिनिधिसभाको २ र प्रदेशसभाको ४ निर्वाचन क्षेत्र रहेको गोरखामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका २२२ मतदानस्थल र ३१७ ओटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

जिल्लाभित्र निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न तीनओटा घेरामा सुरक्षा संयन्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिए । हरेक मतदानस्थलमा पाँचजना र मतदान केन्द्र दुई वटा भए थप दुई जनाका दरले नेपाल प्रहरी परिचालन गरिएको उनले बताए । ‘मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘त्यसभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरीको टोली रहनेछ भने तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ ।’ 

प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लाभित्र निर्वाचन भयरहित, शान्तिपूर्ण र मर्यादित ढंगबाट सम्पन्न गर्नका लागि आवश्यक सबै व्यवस्था मिलाइएको बताए । उनले ७६ ठाउँमा नेपाली सेना र २० ठाउँमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिए । आवश्यक परेको खण्डमा १० मिनेटभित्रमा नै पुग्नसक्ने गरी नेपाली सेना र सशस्त्र प्रहरी खटिएको उनको भनाइ छ । 

गोरखाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १ लाख १५ हजार ३९७ मतदाता छन् भने प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा १ लाख ५ हजार २४० मतदाता छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।