काठमाडौं । पछिल्लो ७ वर्षमा जुट उत्पादन ६ हजार मेट्रिक टनले घटेको पाइएको छ । जुट उत्पादक किसानले लगानीअनुसार प्रतिफल पाउन छाडेपछि यसको खेती छाड्दै गएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको तथ्यांकले पछिल्ला वर्षमा नेपालमा जुट उत्पादन निरन्तर घटिरहेको देखाउँछ ।
मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७१/७२ मा नेपालमा १६ हजार ५ सय ३० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७७/७८ आइपुग्दा उत्पादन ६ हजार ७९ मेट्रिक टनले घटेर १० हजार ४ सय ५१ टनमा सीमित भएको छ ।
यस अवधिमा जुट उत्पादन हुने जमीनको क्षेत्रफल पनि करीब ४ हजार हेक्टरले घटेको छ । आव २०७१/७२ मा ११ हजार ४ सय हेक्टर जमीनमा जुटखेती भएकोमा आव २०७७/७८ मा घटेर ७ हजार ४ सय १५ हेक्टरमा सीमित भएको तथ्यांकले देखाएको छ ।
जुट बाली अनुसन्धान केन्द्र इटहरीका विनोद गुप्ताले उत्पादन लागतअनुसार किसानले मूल्य नपाउने र अस्थिर मूल्यका कारण उत्पादन वर्षेनि घट्दै गएको जानकारी दिए । उनका अनुसार एक कट्ठा जमीनमा तीन मनसम्म जुट उत्पादन हुन्छ । यसको उत्पादन लागत १५ सय रुपैयाँसम्म पुग्छ । तर, किसानले जुट बेच्दा उत्पादन लागतअनुसार मूल्य पाउँदैनन् । जुट उद्योगीले किसानको उत्पादन लागतभन्दा निकै कम मूल्य तोक्ने गरेको उनले सुनाए । जुटको मूल्य सरकारले तोक्दैन ।
उद्योगीले उत्पादन धेरै भएको वर्ष प्रतिमन ७ सयदेखि १ हजार र उत्पादन कम भएको वर्ष १५ सय रुपैयाँसम्म मूल्य तोक्ने गरेको उनी बताउँछन् । नेपाली जुट उद्योगले कोलकाताका उद्योगको निर्देशनमा मूल्य तोक्ने परिपाटीले नेपाली जुट उत्पादक किसान मारमा परेको उनको बुझाइ छ । यसको प्रत्यक्ष असर उत्पादनमा परेको हो ।
करीब १२ वर्षअघि सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी उदयपुरलगायत जिल्लामा मात्रै २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा जुट खेती हुने गरेको थियो । अहिले जुटखेती हुने क्षेत्रफल घटेको छ । जुटखेती हुने जग्गामा अन्य बाली लगाउने गरिन्छ । विडम्बनापूर्ण वास्तविकता चाहिँ के छ भने नेपाली उद्योगका लागि आवश्यक पर्ने ७० प्रतिशत कच्चा जुट भारत र बंगलादेशबाट आयात भइरहेको सरोकारवाला बताउँछन् ।
झापामा तीन बिगाहा जमीनमा जुटखेती गर्दै आएका रामसिंह शाहले यसको खेती गर्न छाडेको ५ वर्ष भइसक्यो । त्यो जमीनमा अहिले धानखेती गर्ने गरेको उनले सुनाए । ‘उखु र धानबालीमा जस्तै जुटखेतीमा पनि सरकारले न्यूनतम समर्थन मूल्य तोक्ने चलन भएको भए किसानलाई खासै समस्या पर्ने थिएन तर सरकारले त्यसतर्फ चासो दिएको छैन,’ उनले आर्थिक अभियानसँगको टेलिफोन कुराकानीमा भने, ‘जुटमा धान बालीमा भन्दा बढी दु:ख गर्नुपर्छ, फाइदा छैन । सधैं घाटा खाएर बस्नुभन्दा बाटो नै परिवर्तन गर्नुपर्छ भन्ने सोचेर जुटखेती छाडेर धानतर्फ लागेको हुँ ।’
किसानले जुटखेतीमा ध्यान दिन छाडेपछि जुट उद्योग पनि धमाधम बन्द भइरहेका छन् । जुट बाली अनुसन्धान केन्द्रको प्रतिवेदनअनुसार मुलुकमा सञ्चालित १२ उद्योगमध्ये अहिले दुईओटा मात्र पूर्ण क्षमतामा चलेका छन् ।
आव २०७६/७७ मा नेपालमा २ अर्ब २६ करोड ५३ लाख रुपैयाँको २ करोड ८७ लाख ८३ हजार किलो जुट भित्रिएको भन्सार विभागको तथ्यांक छ । आव २०७७/७८ मा २ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ बराबरको २ करोड ६७ लाख ५३ हजार किलो जुट आयात भएको छ । त्यसैगरी आव २०७८/७९ मा ३ अर्ब ७८ करोड ७६ लाख रुपैयाँको ३ करोड १२ लाख ४३ हजार किलोभन्दा बढी जुट आयात भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।