शहरियाको खाजामा गैंडाकोटको हरीयो मकै : स्वास्थ्यका लागि कति फाइदाजनक ?

Share News

नवलपुर । शहरमा पोलेको हरीयो मकै खाने चलन निकै व्यापक देखिन्छ । विशेषगरी दिउँसो र साँझको समयमा शहरका चोक, गल्ली र राजमार्गका किनारमा हरीयो मकै पोल्ने र खानेहरूको भीड देख्न सकिन्छ ।

काठमाडौं, पोखरा, नारायणघाट, बुटवललगायत मुख्य शहरमा पोलेर खाइने हरीयो मकै प्रायः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा उत्पादन हुँदै आएको छ ।

गैंडाकोटमा बाह्रै महीना मकैको राम्रो उत्पादन हुने भएकाले यहाँका किसानले व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर निर्यात गर्ने गरेको गैंडाकोट–६ का किसान तिलकप्रसाद रिजालले बताए ।

‘यहाँ मकैको उत्पादन राम्रो हुन्छ, मकै मात्रै लगाउँदा तीन बाली उत्पादन हुन्छ । साथै यहाँ बाह्रै महीना मकै फलाउन सकिन्छ,’ रिजालले थपे, ‘हामीले उत्पादन गरेको मकै खरीद गर्नका लागि काठमाडौं, पोखरा, बुटवललगायत शहरबाट व्यापारीहरू आउँछन् ।’ अन्य खेती गर्दा किसानको मेहनत धेरै हुने र उत्पादन कम हुने भएकाले पनि किसानहरू मकै खेतीमा आकर्षित भएका रिजालको भनाइ छ । 

‘गैंडाकोटमा बाह्रै महीना हरीयो मकै देख्न सकिन्छ, एउटै समयमा कसैको खेतमा मकैको बिरुवा त कसैका खेतमा फल्न लागेका र कतै पाक्न लागेका मकै देख्न सकिन्छ,’ रिजालले भने, ‘हरीयो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी किसान मकैतर्फ आकर्षित भएका हौं ।’

विगत १५ वर्षदेखि बेमौसममा मकै खेती गर्दै आएका रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकै खेती गर्दै छन् । ‘एक सिजनमा रू. ४ लाखदेखि ५ लाखसम्मको मकै बिक्री गर्दै आएको छु,’ रिजालले भने, ‘हिउँदमा लगाइने मकै प्रतिकट्ठा चार क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।’  खानका लागि स्वादिलो र व्यावसायिक रूपमा राम्रो उत्पादन हुने भएकाले यहाँका किसानले प्रायः हाइब्रिड जातका मकै लगाउने गरेका रिजालले बताए ।

गैंडाकोट-७ की सरस्वती सापकोटाले एक बिघा क्षेत्रफलमा लगाएको मकै बिक्री गरी परिवारको खर्च धान्न पुग्ने बताउँछिन् । ‘मकै लगाएर गाईभैंसीलाई खुवाउन पनि भएको छ भने अलिकति बिक्री गरी घरखर्च पनि टरेको छ,’ सापकोटाले भनिन् । मकैका लागि अनुकूल हावापानी, सिँचाइको व्यवस्थाले मकै खेतीप्रति किसानको आकर्षण बढेको पाइन्छ ।

खेतमा बर्खे धान काटेर त्यो जमिनमा मकै लगाएको बताउँदै सापकोटाले गैंडाकोटमा पूर्व–पश्चिम राजमार्गबाट दक्षिणी भागमा मकैको उत्पादन राम्रो हुने बताउँछन् । बर्खे धान रोप्ने ठाउँमा दुई बाली र मकै मात्र लगाउँदा राम्रोसँग तीन बाली उत्पादन गर्न सकिने सापकोटाको भनाइ छ । ‘जाडो महीनामा मकै उत्पादन हुन पाँच महीना लाग्छ,’ सापकोटाले भने, ‘अन्य समयमा एक सय दिनमा हरीयो मकै खान मिल्ने गरी तयार हुन्छ ।’

गैंडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले नगरपालिकाको ५, ६, ७, ८ र ९ नं वडामा बेमौसमी मकै उत्पादन हुने गरेको बताए । ‘यहाँ खासगरी वडा नम्बर ६, ७ र ९ मा मकै लगाउनेको संख्या बढी छ,’ शर्माले भने । यहाँ उत्पादन भएको मकैले जिल्लाको माग धानेर देशका मुख्य शहरमा निर्यात हुने गरेको शर्माले जानकारी दिए ।

नगरपालिकाले गैंडाकोटको वडा नं ६, ७ र ९ मा मकै जोन कार्यक्रम सञ्चालन गरेर अघिल्लो आर्थिक वर्ष रू. २३ लाख ८२ हजार अनुदान वितरण गरिएको शर्माले बताए । ‘हामीले तीन ओटा वडामा कृषि समिति निर्माण गर्न लगायौं, ती वडा समितिबाट एउटा मूलसमिति निर्माण गर्‍यौं,’ शर्माले भने, ‘समितिबाट माग भएअनुसार हामीले कृषि औजार, बीउ र औषधिमा अनुदान दिने गरेका छौं ।’

यहाँको मकैमा अमेरिकन फौजी कीराको प्रकोप बढी देखिने हुँदा नगरपालिकाले फेरोमन ट्याब (अमेरिकन फौजी कीराको पासो), साइलेज बनाउने उपकरण तथा ट्र्याक्टरलगायतका लागि नगरपालिकाले अनुदान दिने शर्माको भनाइ छ ।

गैंडाकोटमा हिउँद लगाइएका हरीयो मकै मात्रै रू. ३ करोडभन्दा बढीको बिक्री हुने गरेको शर्माको भनाइ छ । यहाँ ६६ हेक्टर क्षेत्रफलमा हिउँदे मकै उत्पादन हुने भन्दै शर्माले हिउँदे मकैको उत्पादकत्व ७ टन प्रतिहेक्टर रहेको जानकारी दिए । त्यस्तै १३३ हेक्टर क्षेत्रफलमा लगाइने वसन्ते मकै र बर्खे मकैको उत्पादकत्व ६ टन प्रतिहेक्टर भएको शर्माले बताए ।

के छन् हरियो मकैका फाइदा ?

हरियो मकै खानाले सबैभन्दा धेरै फाइदा शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्नु हो । मकै खाँदा तौल घट्नुका साथै अन्य रोगको निराकरणका लागि पनि फाइदाजनक हुने स्वास्थ्यकर्मीको भनाइ छ ।

मकैमा भिटामिन सी र फाइबरको मात्रा धेरै हुन्छ । यसले कब्जियत लगायतका रोग निको गर्न पनि भूमिका खेल्छ ।
मकैमा पाइने तत्वहरूले कोलेस्ट्रोललाई कम गरेर धमनीहरू ब्लक हुनबाट रोक्ने चिकित्सकहरूको भनाइ छ ।

-राससको सहयोगमा

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।