काठमाडौं । सुन्तला जातका फलफूल उत्पादनमा वृद्धि भए पनि बजार विस्तार भने हुन सकेको छैन । अहिले रुकुम, डोटी, बझाङ, बाजुरालगायत विभिन्न जिल्लाका सुन्तलाले बजार नपाएको गुनासो बढिरहेको छ । सरकारी तथ्यांक हेर्दा हरेक वर्ष सुन्तलाको उत्पादन बढिरहेको देखिन्छ । तर, जसरी उत्पादन बढेको पाइएको छ त्यसअनुसार बजार विस्तार भने हुन सकेको छैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा सुन्तला जातका फलफूल उत्पादन हुने क्षेत्रसँगै उत्पादन पनि बढिरहेको छ । आर्थिक वर्ष २०७३/७४ मा २६ हजार ७ सय ५९ हेक्टर क्षेत्रमा २ लाख ३९ हजार ७ सय ७३ मेट्रिकटन सुन्तला जातका फलफूल उत्पादन भएको थियो । आव २०७७/७८ सम्म आइपुग्दा सुन्तला जातको खेती हुने क्षेत्र ५ हजार ४ सय २९ हेक्टरले बढेर ३२ हजार १ सय ८८ हेक्टर पुगेको छ भने उत्पादन पनि ७१ हजार ४ सय १५ मेट्रिक टनले बढेर ३ लाख ११ हजार १ सय ८८ मेट्रिक टन पुगेको छ ।
सरकारी तथ्यांकअनुसार उत्पादन बढेको देखिए पनि नेपाली किसानले उत्पादन गरेका सुन्तलाले भने बजार पाउन नसकेको गुनासो हरेक वर्ष सुनिने गरेको छ । यस वर्ष पनि डोटी, रुकुमलगायत जिल्लाका किसानले आफूले उत्पादन गरेको सुन्तलाले बजार नपाएको गुनासो गरेका छन् ।
डोटीका सुन्तला किसान नवल सिंह बुढाले ५ रोपनी जमीनमा सुन्तला खेती गरेका छन् । गतवर्षभन्दा यस वर्ष उत्पादन वृद्धि भए पनि सुन्तलाले खासै बजार पाउन नसकेको उनले बताए । ‘काठमाडौंमा १ सय रुपैयाँ किलोमा सुन्तला विक्री भएको समाचार पढ्न र सुन्न पाइन्छ । तर, ४०/५० रुपैयाँ किलोमा पनि बेच्न मुश्किल परेको छ । शीतभण्डारको अभावले धेरै समय स्टक गरेर मूल्य बढेपछि बेच्न सक्ने अवस्था पनि छैन,’ उनले आर्थिक अभियान दैनिकसँग भने ।
नेपाली सुन्तला र जुनारलगायत अम्लीय फलफूलको बजार विस्तारका लागि चीन निर्यात गर्न नेपाल र चीन सरकारबीचको सहमति पनि अझैसम्म कार्यान्वयन हुन सकेको छैन । करीब ३ वर्षअघि चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि विभागबीच उक्त सहमति भएको थियो । हालसम्म पनि यो सहमति कार्यान्वयन हुन नसकेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले चीन सरकारले आफूले किन्ने सुन्तलाको बारी नै रोग तथा कीरारहित हुनुपर्ने शर्त राखेका कारण शुरूमा कार्यान्वयन गर्न समस्या भएको बताए । हाल चीन सरकारले जुन बोटबाट सुन्तला टिपिन्छ त्यो बोट रोग कीरामुक्त हुनुपर्छ भनेर केही लचिलो नीति लिएको छ ।
तर, नेपालले प्रयोगशाला र दक्ष जनशक्तिको अभावमा दोस्रो शर्त पनि पूरा गर्न नसक्दा सहमति कार्यान्वयनमा समस्या आएको प्रवक्ता सञ्जेलले बताए । उनका अनुसार ढुवानी समस्याका कारण पनि दुर्गम क्षेत्रका फलफूल ठूला बजारसम्म ल्याउन समस्या भएकाले पनि स्थानीय किसानले समस्या भोग्नु परिरहेको छ । नेपालमा करीब ६५ जिल्लामा सुन्तला उत्पादन हुने भए पनि व्यावसायिक रूपमा ४४ जिल्लामा मात्र उत्पादन हुने गर्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।