महँगो फल एवोकाडोको उत्पादनसँगै माग पनि उच्च

Share News

मंगलबारे । पछिल्लो समय इलाममा समेत व्यावसायिक एवोकाडो (घीउ फल) को खेती गरिन थालिएको छ । बर्सेनि उत्पादन वृद्धि भए पनि उत्ति नै खपतसमेत बढेको छ । मागअनुसार पुर्‍याउन नसकेको बताइएको छ ।

निकै महँगो फलको सूचीमा पर्ने एवोकाडो इलाममा प्रायः सबै गाउँमा उत्पादन भइरहेको छ । व्यावसायिक उत्पादन भने इलामको रोङ गाउँपालिकादेखि भएको हो । जिल्लामै पहिलोपटक उक्त गाउँपालिकाको सलकपुरमा बिरुवा रोप्न थालेको बताइएको छ । विसं २०४५ मा पहिलो पटक एवोकाडोको बिरुवा रोप्न थालेको बताइएको छ ।

शुरूशुरूमा स्वादसमेत धेरैलाई मन पर्दैनथ्यो तर पछिल्लो समय स्वास्थ्यलाई समेत राम्रो मानिएकाले यो फल उपभोग गर्नेको संख्यासमेत वृद्धि हुँदै गएको छ । हाल बोटमै आएर व्यापारीले मोलमोलाइ गरेर खरीद गर्न थालेपछि गाउँमा फुटकर रूपमा विक्रीसमेत हुँदैन । 

यसको मागमा व्यापक वृद्धि हुँदै गएकाले छिटो सकिने गरेको सलकपुरका किसान ईश्वरी अधिकारीले बताए । उनका अनुसार गत वर्ष दुई बोटमा जेनेतेन ८० किलो उत्पादन भएको थियो । यस वर्ष सोही बोटमा करीब २५० पचास किलो उत्पादन भएको छ ।

बोटबाटै प्रतिकिलो रू. २०० मा विक्री हुने यो फल नेपालीले मात्र होइन नजिकै रहेको छिमेकी देश भारतबाट आउने पाहुनाले समेत खरीद गरेर लैजाने गरेको किसानको भनाइ छ । देशकै पनि धेरै स्थानबाट माग बढ्दै गएको अधिकारी एग्रो बबना कटेजका सञ्चालक याम अधिकारीले बताए ।

उनले गत वर्षभन्दा यस वर्ष उत्पादन वृद्धि भएको बताए । साना बिरुवा रोप्ने क्रम बढिरहेकाले पनि बर्सेनि यसको उत्पादन वृद्धि हुँदै गएको छ । पहिला स्थानीय समाजसेवी स्वरोमस अधिकारीको बगानमा दुई वटा मात्र बिरुवा थिए ।

तिनै बोटबाट गाउँमा सामान्य चाख्न पुग्थ्यो । हाल उत्पादन र मागसमेत बढेको छ । अहिले गाउँभर प्रायः सबैको बगानमा यसको उत्पादन भइरहेको छ तर पनि खास बजार पुर्‍याउन नै नपरेको किसान कल्पना भण्डारीले बताइन् । उनले समेत यसको व्यावसायिक उत्पादन गर्दै आएकी छन् । रोङ गाउँपालिका झापासँग नजिक रहेका कारण पनि यहाँबाट धेरै फलको कारोबार हुने गरेको छ ।

अत्यधिक पौष्टिक र प्रोटिनयुक्त यो फल शुरूमा चाना काटेर रोटीमा दलेर खाने गरिएको भए पनि अहिले यसको अतिरिक्त जुस बनाएरसमेत खाने गरिएको छ । करीब दुई वर्षअघि रोङ गाउँपालिकाले किसानको मागअनुसार अनुदानमा बिरुवासमेत वितरण गरेको स्थानीय गोविन्द पौडेलले बताए ।

उनले गाउँमा यसको व्यावसायिक उत्पादन गर्ने किसानको संख्यासमेत वृद्धि हुँदै गएको बताए । दर्जनौं परिकार बनाउन सकिने एवोकाडो एउटै बोटमा ४००/५०० किलोसम्म फल्ने गरेको छ । रोङ गाउँपालिकासहित इलाम नगरपालिकालगायत जिल्लाभरि नै यसको उत्पादन शुरू भएको छ । व्यावसायिक उत्पादन गर्ने किसानको संख्या भने थोरै छ ।

जिल्ला वन कार्यालय इलामले समेत गत वर्ष र यस वर्ष किसानलाई बिरुवा वितरण गरेको छ । यो फल पनि विभिन्न जातको हुने गरेको छ । जोखेर नै कारोबार हुने गरेको भए पनि सानो फलको कम मूल्य र ठूलो फलको उच्च मूल्य हुने गरेको छ ।

यसको प्रतिकिलो रू. १५० देखि २०० सयसम्ममा कारोबार भइरहेको छ । खास स्वादमा नौनी घीउजस्तो हुने गरेको छ । लाम्चो, डल्लो तथा विभिन्न आकारमा फल्ने यो फल धेरैलाई नयाँसमेत लाग्ने गरेको छ । यस मौसममा खानयोग्य हुने यो फल भण्डारण गर्ने हो भने पछि यसको मूल्य अझ उच्च हुने किसानको भनाइ छ । -रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।