काठमाडौं । अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएको भन्दै ‘अर्थतन्त्र जोगाऔं’ अभियान चलाइरहेको नेपाल उद्योग वाणिज्य महासंघले मंगलवार केन्द्रीय बैंकका गभर्नरलगायत उच्च अधिकारीसँग भेटवार्ता गरेको छ । उक्त अवसरमा महासंघले उठाउँदै आएका चासोका विषयहरू नै अघि सारिएको बताइएको छ ।
महासंघले यसअघि प्रधानमन्त्री, अर्थमन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेतालगायतलाई भेटेर अर्थतन्त्र जोगाउन अर्थ मन्त्रालय र केन्द्रीय बैंकले चाल्नुपर्ने कदमसम्बन्धी सुझाव पेश गरिसकेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उच्च अधिकारीसँगको भेटमा महासंघ टोलीले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक असर परेको भन्दै तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मूल्य स्थिरताका लागि विशेष पहल गर्न आग्रह गरेको छ ।
अध्यक्ष शेखर गोल्छाले नेतृत्व गरेको टोलीमा महासंघका पदाधिकारी, प्रदेश च्याप्टरका अध्यक्ष र कार्यकारिणी समितिका सदस्य सहभागी रहेको महासंघको विज्ञप्तिमा उल्लेख छ । ‘नेपालको निजीक्षेत्र सम्भवत: हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ,’ भेटमा अध्यक्ष गोल्छाले भने, ‘ब्याजदर स्थायित्व चालू पूँजी कर्जासम्बन्धी नयाँ व्यवस्थाको स्थगनलगायत उपायमार्फत केन्द्रीय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनुपर्छ ।’
अध्यक्ष गोल्छाले मौद्रिक नीतिको समीक्षाले पनि समस्या समाधान गर्न नसकेको गुनासो गरे । अर्थतन्त्रका महत्त्वपूर्ण आधारहरू सिमेन्ट, डन्डी, घरजग्गा व्यवसाय, निर्माण, अटोमोबाइललगायत क्षेत्रमा ६० प्रतिशतसम्म गिरावट आएकाले तत्काल यीलगायत सिंगो निजीक्षेत्र चलायमान हुने वातावरण बनाउन अध्यक्ष गोल्छाले आग्रह गरे । गभर्नर अधिकारीले महासंघले दिएका सुुझाव अध्ययन गरी निर्णय गर्ने बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।