जेनेभा । संयुक्त राष्ट्र संघ UN ले एकपछि अर्को गरेर विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको ट्वीटर खाता बन्द हुन थालेपछि कडा प्रतिवाद गर्ने बताएको छ ।
ट्वीटरले न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोस्टमा कार्यरत सञ्चारकर्मीहरुले एकाउन्ट बन्द गरेपछि यूएनले विरोध गरेको हो । यसअघि यूरोपियन यूनियन(ईयू) ले पनि ट्वीटरको उक्त कार्यको विरोध गर्दै प्रतिबन्ध लगाउने चेतावनी दिइसकेको छ ।संयुक्त राष्ट्र संघले मिडिया स्वतन्त्रता ‘कुनै खेलौना’ नभएको प्रतिक्रिया दिएको छ ।
संयुक्त राष्ट्र संघमा ग्लोबल कम्युनिकेसन उप-महासचिव मेलिसा फ्लेमिङले पत्रकारहरूलाई ट्वीटरबाट मनोमानी ढंगले गरिएको निलम्बनबाट गहिरो चिन्ता बढाएको बताएकी छिन् ।‘मिडिया स्वतन्त्रता खेलौना होइन । स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला हो र यसले हानिकारक विकृति विरुद्धको लडाईमा महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनले भनिन् ।
यसअघि ईयूका कमिसनरले ट्वीटरलाई यूरोपको नयाँ डिजिटल सेवा ऐन अन्तर्गत प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। उनले यस ऐनअन्तर्गत ‘मिडियाको स्वतन्त्रता र आधारभूत अधिकारको सम्मान आवश्यक’ रहेको बताए । उनले भने, ‘एलन मस्कलाई यसको बारेमा थाहा हुनुपर्छ।’
तर मस्कले यसको घुमाउरो जवाफ दिंदै भनेका छन्, ‘दिनभर मेरो आलोचना गर्नु एकदमै राम्रो हो तर मेरो वास्तविक स्थानको बारेमा बताउन र मेरो परिवारलाई खतरामा पार्नु ठीक होइन।’ लाइभ लोकेसनमा ‘डक्सिङ’ गर्नु ‘भौतिक सुरक्षा उल्लङ्घन’ भएको मानिने बताउँदै ट्वीटर प्रयोगकर्तालाई मस्कले यस्तो काम नगर्न आग्रह गरेका छन् ।
ट्वीटरका प्रवक्ताले भने अमेरिकी समाचार वेबसाइटमा कार्यरत पत्रकारको लोकेशन डाटाको लाइभ आदानप्रदानका लागि ट्वीटर खाता निलम्बन गरिएको बताएका छन् । सामान्यतया इन्टरनेट मार्फत सार्वजनिक रूपमा एक व्यक्ति वा संस्थाको बारेमा व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी प्रदान गर्ने कार्य ‘डक्सिङ’ हो र यसबाट भौतिक सुरक्षा उल्लङ्घन’ हुने मस्कको तर्क छ । उनले ‘माइक्रोब्लगिङ साइट’मा साइबर सुरक्षा बढाउनुपर्ने आफ्नो अडान स्पष्ट पार्दै प्रयोगकर्तासँग उक्त आग्रह गरेका छन् ।
‘कुनै पनि एकाउन्टले कसैको बारेमा वास्तविक–समय स्थानबारे जानकारी दिएमा उसको एकाउन्टलाई रोक्का गरिनेछ, किनकि यो भौतिक सुरक्षा उल्लङ्घन हो । यसमा वास्तविक समय र स्थानबारेमा आउने जानकारी भएका साइटहरूको पोस्ट लिङ्क गर्नु पनि समावेश रहनेछ,’ उनले भनेका छन् ।
यसैबीच उनले ट्वीटरबाट निलम्बित गरिएका विभिन्न सञ्चारकर्मीहरूको एकाउन्ट पुनः सुचारु गर्ने जानकारी दिएका छन् । उनको यस्तो कदमको चौतर्फी आलोचना भएपछि उनले ट्वीटरका प्रयोगकर्ताहरूलाई ‘के गर्दा हुन्छ ?’ भनेर सोधेका थिए । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।