भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा लागू गरेको छ । यही पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा लागू गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्याउने उद्देश्यले पाँचजना सम्मका परिवार, आश्रित बालबालिका र ६० वर्षदेखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयनमा ल्याएको उनले बताए ।
उपप्रमुख श्रेष्ठले भने, ‘नगरपालिकाले पहिलोपटक निःशुल्क स्वास्थ्य बीमा लागू गरेको छ, पाँच जनासम्म परिवार संख्या भएका सबै नागरिकलाई बीमा बापतको रू. ३ हजार ५०० प्रिमियम रकमसमेत नगरपालिकाले व्यहोर्ने छ, ज्येष्ठ नागरिकमा आश्रित बाबुआमा नभएका टुहुरा नाबालकहरूको पनि स्वास्थ्य बीमाको प्रिमियम रकम नगरपालिकाले नै व्यहोर्नेछ ।’
उनले ७० वर्षभन्दा माथिका नागरिकको हकमा सरकारले नै रू. १ लाखसम्मको स्वास्थ्य बीमा निःशुल्क गरिदिएकाले त्यसको हकमा नगरपालिकाले निर्णय गर्नु नपरेको बताए । उनले यसका लागि नगरपालिकाले बजेट विनियोजन गरेर निर्णयलगत्तै कार्यान्वयनमा ल्याएको बताए ।
शुक्रवार नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको वाग्मती प्रदेश बीमा बोर्डका पदाधिकारी सहितको बैठकले नगरपालिकाको ज्येष्ठ नागरिक स्वास्थ्य बीमा कार्यविधि, २०७९ बमोजिम यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याएको हो ।
परिवारमा पाँच जनाभन्दा बढी संख्या रहेको अवस्थामा प्रिमियम रकमभन्दा माथि प्रतिव्यक्ति रू. ७०० बीमा बापतको रकम भने परिवारले नै व्यहोर्नुपर्नेछ ।
नगरपालिकाका प्रमुख श्रेष्ठले कुनै पनि नागरिकले पैसा नभएकै कारण स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा र उपचार सेवा शुरू गरेको जानकारी दिए ।
वडाध्यक्ष कृष्णकुमार प्रजापति, कार्यपालिका सदस्य सरस्वती खड्का र बालकृष्ण परियारले बीमा गरी ज्येष्ठ नागरिक स्वास्थ्य बीमाको शुरूआतसमेत गरेका छन् । -रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।