काठमाडौं । आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जर प्रयोजनका लागि रोक्का रहेको यस कम्पनीको शेयर कारोबार सोमवार फुकुवा गरेको छ ।
सिवाईसी नेपाल लघुवित्तसँग गत असार २२ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको आँधिखोला लघुवित्तको शेयर कारोबार असार २३ गतेदेखि रोक्का रहेको थियो ।
पछिल्लो समय मर्जर तथा प्राप्ति प्रयोजनका लागि एकीकृत कारोबारपछि मात्र बढीमा १५ दिन कारोबार रोक्का राख्नुपर्ने व्यवस्था लागू भएसँगै कम्पनीको आधारभूत शेयरधनीबाहेकको शेयर कारोबार फुकुवा भएको हो ।
नेप्सेका अनुसार आधारभूत शेयरधनीबाहेकका सदस्यहरूले मंगलवारदेखि आफ्नो शेयर कारोबार गर्न सक्नेछन् । आँधिखोला लघुवित्तले यसअघि पनि धौलागिरी लघुवित्तसँग मर्जर सम्झौता गरेको थियो । धौलागिरी लघुवित्तसँगको मर्जर सम्झौता भाँडिएसँगै सिवाईसी लघुवित्तसँग मर्जरमा जान लागेको हो ।
आँधिखोला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले पुस मसान्तभित्रै सिवाईसी लघुवित्तसँग मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने जानकारी दिएका छन् । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको जानकारी दिँदै प्रमुख कार्यकारी केसीले यसै हप्ताभित्र राष्ट्र बैंकको स्वीकृति मिल्नेमा पनि आशावादी रहेको बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।